‘एस पावर क्यान इन्फोटेक २०२४’ आजदेखि काठमाडौँमा शुरु, सूचना प्रविधि क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आज अर्थात माघ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु भएको छ । सूचना तथा सञ्चार रेखा शर्माले उक्त क्यान इन्फोटेक मेलाको उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले अबको युग सूचना प्रविधिको भएको भन्दै निजि क्षेत्रसँग हातेमालो गरेर सरकार अघि बढ्ने बताइन् । मन्त्री शर्माले भनिन्, – ‘क्यानले सुचना क्षेत्रको सफलता हासिल गर्ने ठुलो भुमिका खेलेको छ । यो युग सुचना प्रविधिको युग हो । विगत २८ वर्ष देखि बनाउदै आएको यो मेला निकै प्रभावकारी भइरहेको छ । सुचना प्रबिधी बिदेशी राष्ट्रबाट सिक्नु निकै आवश्यक छ । प्रविधि सरकारको अर्थतन्त्रको मुल आधार हो । यसमा निजि क्षेत्रसग समेत हातेमालो गर्नु सरकार तयार छ ।’
सरकारको सूचना प्रविधि क्षेत्रमा स्पष्ट नीति नहुँदा यो क्षेत्र अघि बढ्न केहि समस्या उत्पन्न भएको शर्माले बताइन् । ‘सरकारले प्रविधिमा स्पष्ट नीति बनाउन सकेको छैन । हाम्रो कानुन सुचना प्रविधिमैत्री बनाउनु जरुरी छ । प्रविधि राष्ट्रिय आवश्यकता हो भन्ने कुरा हामिले सैद्धान्तिक हिसाब मानि सकेका छौं’ शर्माले भनिन्, – ‘अबको लगानि सुचना तथा प्रविधि क्षेत्रमा हुनु पर्छ । यस क्षेत्रले हजारौं मान्छेलाइ रोजगारी दिन सकिन्छ । प्रविधिको क्षेत्रले सरकारलाई पनि ठुलो सहयोग भएको छ । डिजिटल नेपालको सपना पुरा गर्न क्यानको यो मेला सफल हुने छ ।’
साथै, क्यानलाई आफ्नो क्षेत्रको दायरा वृद्धि गर्ने समेत मन्त्री शर्माले आग्रह गरिन् । ‘सरकार र क्यानको सहकार्य आवश्यक छ । क्यानले पनि आफ्नो क्षेत्र बिस्तार गर्नुपर्छ । डिजिटल नेपाल बनाउन सरकारले चालेको कदम क्यानले थप सहयोग गरेको छ । प्रबिधिबाट प्रमाण ल्याउन हामिले सकेका छैनन्’ शर्माले भनिन् ।
समृद्धि आधार भनेको नै सुचना प्रविधि रहेको मन्त्री शर्माको तर्क थियो । बिदेशिएका युवाहरुलाई स्वदेश मै रोक्न सुचना प्रविधिबाट नयाँ फड्को मार्न सक्ने बताईन् । बजेट मार्फत पनि सरकारले सुचना प्रविधिलाइ जहिले पनि केन्द्रमा छ । प्रबिधि क्षेत्रमा आकर्षण बढाउन सरकारले छिट्टै नयाँ तालिम र प्रदर्शन गर्ने मन्त्रीले बताइन् । सुचना प्रविधि विकास सगै आएका नकारात्मक कुरालाई समेत सरकारले महत्वपूर्ण रुपमा लिएको उनले बताइन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी शुरु भएको हो । प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । अन्तर्राष्ट्रिय रूपमा असोसियो र टीओए सफ्टवेयर कर्षको सहयोग रहेको छन् ।
नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यानका अध्यक्ष रणजितकुमार पौदारले बताए । ’यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गर्दै आएको छ’ पौदारले भने ।
त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक गरिने जनाएको छ । यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिएको छ ।
प्रर्दशनिको बारे जानकारी दिदै महासचिव अधिकारीले सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताए ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यक्ता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने विश्वास लिएको छ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ । नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने छ । यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
गल्ली म्याप्समार्फत क्यान इन्फोटेक २०२४ को स्टलको स्थान तथा कम्पनीको ठेगाना म्यापमार्फत प्रदान गरिने जनाइएको छ । त्यस्तै मण्डला सिस्टमसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ लाई अनलाइनमार्फत पनि प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । उक्त मेलामा बीमा पोष्ट डटकमले समेत आफ्नो स्टल राखेको छ ।
क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको महासचिव अधिकारीले बताए । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा क्यानले राखेको छ ।