झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि कम्पनीले एलएस क्यापिटल, नयाँ बानेश्वर काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका साथै सर्वसाधारण समेतका लागि उक्त आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीले माछापुच्छ्रे गाउँपालिका, कास्कीमा ३२ मेगावाट क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गर्दै आइरहेको छ ।
साधारण शेयर निष्काशन कार्यका लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
जारी पूँजी दुई अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात् यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडि विद्युत वितरण गरिने योजनासमेत रहेको कम्पनीले बताएको छ ।