६ महिनामा ८५ हजार विद्यार्थी बाहिरिदा ५८ अर्ब विदेशियो, विश्वविद्यालयमा राजनीति गर्ने संगठन कता भासिए ?
काठमाडौं । दिन प्रतिदिन विदेशिनेको संख्या बढिरहेको छ । पछिल्लो समय विदेश जाने लहर नै चलेको छ । गाउँघर युवाविहिन बन्दै गएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्र रोजगारीका लागि ३ लाख ४३ हजार ४०५ जना विदेशिएको तथ्याङ्क राष्ट्र बैंकले दिएको छ । सबै भन्दा धेरै नेपालीहरु रोजगारीका लागि युएई र कतार जाने गरेका छन् ।
रोजगारी खोज्दै विदेशिनेको सख्या बढिरहेका बेला पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएका समस्याले विद्यार्थीहरु समेत विदेशिने क्रम बढेको छ । नेपालका विश्वविद्यालयहरु रित्तिएका छन् । पढाइपछिको रोजगारीको चिन्ताले लाखौं खर्च गरेर अध्ययनका लागि विदेशिनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक लर्को लाग्ने गरेको छ ।
नेपालको शिक्षामाथि अविभावकको विश्वास उठ्दै गएको छ । छोराछोरीको भविष्यको चिन्ताले अभिभावकहरु घरखेत बेचेर विदेश पठाउन बाध्य भएका छन् । उच्च शिक्षा अध्ययन गरेर पनि बेरोजगार हुनुपरेपछि विद्यार्थीहरुको विदेश भागदौड मच्चिएको हो ।
सरकार गुणस्तरी शिक्षा र रोजगारी सिर्जना गर्ने हरेक ठाउँमा चुकिरहेको छ । राजनीतिक दाउपेचले थलिएका विश्वविद्यालयमा विद्यार्थीको संख्या टर्च लाइटले खोज्नु पर्ने अवस्थामा पुगेको छ ।
दक्ष शनशक्ति लगातार पलायन हुनुले मुलुकको परिचय वृद्धाश्रमतर्फ उन्मुख हुने पो हो कि ? भन्ने चिन्ताले पिरोलेको छ । युवाहरुको पलायनले शव उठाउने व्यक्ति समेत ज्यालादारीमा खोज्नु पर्ने अवस्था सिर्जना भएको चिन्ता गर्न थालिएको छ । तर, राजनीतिक अस्तव्यस्तताले युवाहरुको पलायनलाई मुख्य प्रोत्साहन गरिरहेको बताइन्छ ।
यसबारे न संसदमा आवाज उठ्छ, न सडकमा । उदेक लाग्दो कुरा त के छ भने, शिक्षाको गुणस्तर र आफ्नो भविष्यप्रति चिन्ता गर्नु पर्ने विद्यार्थी संगठनहरु समेत देखिन छोडेका छन् ।
शिक्षाका लागि ६ महिनामा नै बाहिरिए ८५ हजार विद्यार्थी, क्यानाडा, अष्ट्रलिया र अमेरिका बढी
चालु आर्थिक वर्षको ६ महिनामा ८५ हजार विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ८५ हजार ७५ जना विदेशिएका छन् ।
साथै, अध्ययनका लागि बाहिरि राष्ट्र जानका लागि यस अवधिमा ५१ हजार ५६७ जनाले स्वीकृत लिइ सकेका छन् भने २ हजार ५८१ जनाको स्वीकृती रद्ध भएको छ ।
अध्ययनका लागि सबै भन्दा बढी क्यानाडा जाने गरेको पाइएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा क्यानाडामा १८ हजार ४४९ जना, अष्ट्रलियामा १९ हजार ३२ जना, जापानमा ११ हजार ५१४ जना, अमेरिकामा ७ हजार ३०८ जना विद्यार्थी अध्ययनका लागि गएका छन् ।
आ.व.२०८०।०८१ को NOC को अर्धवार्षिक विवरण (1)बाहिरियो शिक्षाबाट करिब ५८ अर्ब
चालु आर्थिक वर्षको ६ महिनामा उच्च शिक्षा अध्ययनका नामा करिब ५८ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको पुष महिनासम्ममा शिक्षाका लागि बाहिरिने विद्यार्थीहरुबाट ५८ अर्ब ९५ करोड १ लाख रुपैयाँ बाहिरिएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.७ प्रतिशतले बढी हो ।
शिक्षाबाट दिनप्रति दिन बाहिरिने रकमको आंकडाले नयाँ उचाई कायम गरिरहेको छ । गत वर्षको सोही अवधि अर्थात पुष समान्तसम्ममा शिक्षाका नाममा ३५ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बाहिरिएको थियो ।
गत वर्ष मात्र शिक्षाको नाममा एक खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकको तथ्याङ्क छ । त्यसरी अध्ययनका लागि वार्षिक लाखौको संख्यामा विद्यार्थी गइरहेका छन् । विदेश गएका विद्यार्थीबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ । जापान र अष्ट्रेलिया जानेको तथ्याङ्क सबैभन्दा बढी छ ।
विद्यार्थी संगठनको नजरमा सरकार दोषी
विद्यार्थीका हक–हितको वकालत गर्ने विद्यार्थी संगठनको भूमिका दुब्लाएको छ । विद्यार्थी विदेशिएर विश्वविद्यालय रित्तिँदा समेत विद्यार्थी नेताहरु माउ पार्टीको आदेश पालनाको औपचारिकताभन्दा माथि उठ्न सकेका छैनन् ।
गुणस्तरीय शिक्षा, शिक्षा पछिको रोजगारी सुनिचश्ताका लागि आवाज उठाउनु पर्ने विद्यार्थी संगठन पार्टीको हुकमी आदेश बाहेक अन्य गतिविधि गर्न आवश्यक ठान्दैनन् । अनेरास्ववियुका अध्यक्ष समिक बढाल संगठनले निरन्तर शिक्षा सुधारका लागि दबाब दिदा सरकार मुकदर्शक बनिरहेको बताउँछन् । उनले भने, ‘अनेरास्ववियुले निरन्तर विद्यार्थीलाई स्वदेश मै उपयुक्त तथा गुणस्तरीय शिक्षाको माग गर्दै आएको छ । सरकारले नेपालका विश्वविद्यालयमा आकर्षक पाठ्यक्रम ल्याउन सकेका छैनन् । रोजगारी सिर्जना गर्नेमा सरकार चुकेको छ । नीतिगत सुधार गर्नमा सरकार सुस्त छ । विद्यार्थीहरु भविष्य खोज्न बाहिरिरहेका छन् ।’
अनेरास्ववियुले १२ पास नगरेका विद्यार्थीलाई नेपालमा मै उपयुक्त वातारण दिने र स्नातकपछि मात्र विदेश जाने नीति ल्याउन खोज्दा सरकारले दुई दिन समेत टिक्न नदिएको उनले बताए । नेपाल मै पढेको पाठ्यपुस्तकले युवा रोक्न सक्छौ भन्ने सुनिश्चितता तीन तहले जिम्मा लिनुपर्छ, उनले अगाडि भने, ‘विश्वविद्यालयले समय मै भर्ना लिदैन । समय मै नजिता प्रकाशन गर्न सक्दैन । आफैसँग पढेको साथी विदेशमा गएर सबै तह पास गरिसक्दा समेत नेपालका विश्वविद्यालयमा एउटै तहमा अल्झिनु पर्ने अवस्था छ ।’
उनका अनुसार मुलुकमा पढाई पछिको रोजगारी देखिदैन । लगानीको सुनिश्चितता नभएपछि अभिभावकले विश्वविद्यालय शिक्षामा लगानी गर्नु भन्दा बाहिरै पठाउने गर्छ ।
अब राज्यले विश्वविद्यालयलाई सिप र उद्योगसँग जोड्नु आवश्यक रहेको उनको तर्क छ । ‘विद्यालय तहदेखि नै सिपमुलक शिक्षामा जोड दिनु पर्छ । सिप र उद्योगसँग सरकारले विद्यार्थीलाई जोड्न सकेनौ भने विदेशिने विद्यार्थीको आंकडा थपिदै जान्छ । रोजगारी सिर्जना हुने क्षेत्रमा समेत राज्यले शशक्ति भुमिका खेल्नु जरुरी छ । नेपालको स्रोत साधनलाई उपयोग गर्ने गरी नेपालको शिक्षासँग जोड्न सकिएन भने विद्यार्थी रोक्न सक्दैनौ’ बढालले भने ।
नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्सलाई मान्ने गरिएपनि जति रेमिट्यान्स छ त्यति रकम पढनको लागि विद्यार्थीहरुले विदेश लगिरहेको नेविसंका अध्यक्ष दुजाङ शेर्पाले बताए । शेर्पाले भने, ‘सरकारले शशक्त भुमिका खेल्न नसकेको अवस्था हो । अहिले विद्यार्थी बाहिरिने समस्यालाई सरकारले राष्ट्रिय समस्या घोषणा गर्नुपर्छ । यसका सरकार, प्रतिपक्ष, व्यवसायी र विश्वविद्यालयका प्रमुखहरु बसेर विद्यार्थीयोग्य पोलिसि ल्याउनुपर्छ ।’
विद्यार्थीलाई रोजगार र उद्योमशिलतासँग जोड्न सकेनौ भने विद्यार्थी विदेशिने क्रमलाई रोक्न नसकिने शेर्पाको तर्क छ । ‘सरकारले सबैसँग हातेमालो गरेर विद्यार्थीहरुलाई नेपाल कै शिक्षा उत्तम छ र यहिँ केही गर्न सकिन्छ भन्ने वातारण बनाउनु सक्नुपर्छ’ शेर्पाले भने ।
शिक्षाका लागि विदेशिने विद्यार्थी सख्या वृद्धि भइरहदा निजी क्षेत्रका शैक्षिक संस्था मारमा परेका छन् । सरकारले स्वदेश नै उपयुक्त शिक्षाको वातावरण नबनाउँदा देशभित्रका निजी शैक्षिक संस्था समेत धरासायी बन्दै गएको अवस्था छ ।
किन विदेशिए विद्यार्थी ?
नेपालको शिक्षा अन्तर्राष्ट्रिय अभ्यास अनुकुल नहुँदा अध्ययनका लागि विद्यार्थीहरु विदेशिने गरेको शिक्षाविद् डा.विद्यानाथ कोइराला बताए । कोइरालाले भने, ‘शिक्षाका लागि नेपालबाट बाहिरिने मात्र पैसा बढ्दा भित्र्याउन किन नसकेको ? बाहिरको मान्छेलाई हाम्रो देशमा पनि पढाउन सकिन्छ । तर, हामी लचिला भएन छौं । विदेशीमैत्री हामी हुन सकेका रहेनछौं । यस कारणले हाम्रो पैसा शिक्षाका लागि बाहिर गयो, उनीहरुलाई पैसा आयो ।’
शैक्षिक कोर्स विद्यार्थीलाई बनाउन दिनुपर्ने कोइरालाको तर्क छ । ‘विद्यार्थीले के खोजे ? हामीले कोर्समा के दियौ ? मैले सन् २००५ देखि भन्दै आएको विद्यार्थीलाई कोर्स बनाउन दिउँ भन्ने हो । विद्यार्थीले भनोस मलाई यस्तो कोर्ष चाहिन्छ, भनेर । तर, यहाँ त्यो भएन । हाम्रा कोर्स विद्यार्थीमैत्री छैनन् ।’ शिक्षाविद् डा. कोइरालाले विद्यार्थीहरु विदेशमा अध्ययन भन्दा कमाउन जाने गरेका बताए ।
उनले भने, ‘बहाना शिक्षा हो, तर जाने कमाउन हो । नेपाल मै कमाउनको लागि हाम्रा राजनीतिक नेतृत्वले सिकाएको बाटो, लुट्ने कुट्ने जसरी भए पनि पैसा कमाउने । अहिलेका विद्यार्थी युनियनले जानेको कुरा पनि यहि हो । अनि कसरी हुन्छ, प्रगति ?’
प्रत्येक विद्यार्थीले गरेर खाने सिप सिकाउन नसकेसम्म उनीहरुलाई स्वदेशमा रोक्न नसकिने डा. कोइरालाले बताए । उनले भने, ‘विदेश जाने विद्यार्थीले समेत राता रात भर्ना पाउने भन्ने होइन । उनीहरुले पढ्ने भनेको पार्टटाइम कलेजमा हो । नेपालमा पार्टटाइम कोर्स कलेज किन बनाउन न सकेको हो ? पार्टटाइम कोर्स बनायौँ भने पनि केहीहदमा विद्यार्थी रोक्न सक्छौ ।’