क्षत्रपाटी निःशुल्क चिकित्सालय ६७ औं वर्षमा, बीर गणेशमान सिंह भवन बनाउने उद्घोष
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले आज ६७ औं बार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । चिकित्सालयका संस्थापक कम्पाउण्डर बद्री मालीको शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले बार्षिकोत्सव मनाएको हो । सोही अवसरमा एक कार्यक्रम आयोजना गरी कर्मचारीहरुलाई सम्मान गरेको छ ।
२०१३ साल माघ २३ गते स्थानीय समाजसेवीहरुले १० रुपैयाँ चन्दा उठाएर सञ्चालन सुरु गरेको क्षत्रपाटी निःशुलक चिकित्सालय अहिले तीन वटा भवनमा अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । निःशुल्क चिकित्सालयले ६७ औं बार्षिकोत्सवको अवसर पारेर बीर गणेशमान सिंह भवन बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । उक्त भवनमा गणेशमान सिंह प्रतिष्ठानसँग सम्झौता गर्ने तयारी भइरहेको अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंहले २०१३ सालमा स्थापना भएको अस्पतालको भवन निर्माण गर्न २०१६ सालमा तत्कालिन मन्त्री गणेशमान सिंहले सिलान्यास गरेको स्मरण गर्दै हाल शहरी क्षेत्रका जनताको सेवामा क्षत्रपाटी अस्पतालले अतुलनीय भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । काठमाडौं क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता सिंहले क्षत्रपाटी अस्पतालसँग आफ्नो पुर्खादेखिको सम्बन्ध रहेको बताउँदै आगामी दिनमा नयाँ पुस्ताले पनि सहकार्य र सहयोग गर्ने बताए ।
काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडाका अध्यक्ष नविनमान मानन्धरले अस्पतालले शहरी क्षेत्रका जनताको लागि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै सहुलियत दरमा अत्याधुनिक सुविधा दिने काठमाडौं महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
बार्षिकोत्सव समारोहमा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पतालमा धेरै स्मरणयोग्य कामहरु भएको चर्चा गर्दै माऊ बद्री भवन तयार हुदै गरेको र अब नयाँ बीर गणेशमान सिंह भवन समेत बनाउने प्रस्ताव अघि बढेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षत्रपाटी अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सरकारसँग सहयोग लिएर अस्पताल चलाउन निकै कठिन भएको अनुभव सुनाए । अध्यक्ष श्रेष्ठले एउटा एम्बुलेन्स खरिदका लागि पाँच वर्षपछि बल्ल बीरगन्ज भन्सार कार्यालयमा आइपुगेको जनाउँदै कागजी प्रक्रियाहरु निकै अप्ठेरो रहेको बताए । अध्यक्ष श्रेष्ठले क्षत्रपाटी अस्पतालको माउबद्रि भवनमा २५ शैय्याको डायलासिस विभाग तयार हुँदै गरेको, अत्याधुनिक एमआरआईको लागि आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले अस्पतालको इमरेन्जी सेवा विस्तार गर्ने र त्यसको लागि दुई आना जग्गा थप गर्ने प्रक्रिया अघि बढेको बताए ।
अध्यक्ष श्रेष्ठले सबैको सहयोगमा सञ्चालित अस्पतालमा बार्षिक सयौं असहाय, गरिब तथा न्यून आय भएका जनताले निःशुल्क उपचार सुविधा पाएको बताउँदै हुनेसँग पैसा लिने र नहुनेलाई निःशुल्क उपचार सुविधा प्रदान गर्ने अस्पतालको नीति भएको बताउँदै माऊ बद्री भवनको लागि अझै सहयोग आवश्यक रहेको बताए ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालमा लामो समयदेखि सेवागत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै अस्पतालले ३० वर्षे सेवा अवधी पुरा गरी अवकास पाएका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । सोही क्रममा उत्कृष्ट कर्मचारीको रुपमा डे«सिङका राज कुमार थापा र प्रशासनकी मिनु जोशीलाई सम्मानित गरिएको थियो ।
बार्षिकोत्सवकै अवसर पारेर सहृदयी मन भएका सहयोगी दाताहरु बबी बिमली र निला खड्का बिमलीले सात लाख रुपैयाँ अस्पतालको नव निर्मित माउ बद्री भवनका लागि आर्थिक सहयोग गर्दै चेक हस्तान्तरण गरेका छन् । त्यस्तै, गंगासागर श्रेष्ठ र बिकुमाया श्रेष्ठको नाममा कृष्ण सागर श्रेष्ठले पनि सात लाख रुपैयाँको चेक आजै हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष डा. श्रेष्ठले माउ बद्री भवनमा थप स्वास्थ्य सेवा विस्तारको लागि अस्पताललाई अझै करोडौं रुपैयाँ आर्थिक सहयोग आवश्यक भएको र आज १४ लाख रुपैयाँ सहयोग गर्ने दातृहरुलाई धन्यवाद ज्ञापन गरे ।