विपन्न र वेवारिसेहरुको निःशुल्क उपचारका लागि बालेनले उठाए नयाँ कदम
काठमाडौं । ।काठमाडौं महानगरपालिकाले विपन्न र वेवारिसेहरुको निःशुल्क उपचारका लागि निर्देशक समिति गठन गरेको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरिएको हो ।
मंगलबार बसेको सरोकारवाला निकायका प्रतिनिधिसहितको बैठकले यो समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवालाई व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउनेबारे निर्देशक समितिले युद्धस्तरमा काम गर्ने बताइएको छ ।
महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० यसअघि नै जारी गरिसकेको छ । समितिको सदस्यमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् ।
संघीय स्वास्थ्य मन्त्रालयकातर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयकातर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलका तर्फबाट विश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपालका वागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य, नेपाल नर्सिङ्ग काउन्सिलका तर्फबाट शुक्ला खनाल सदस्य रहेका बताइएको छ ।
सरकारी तथा सामुदायिक अस्पतालका प्रमुखमध्ये कान्ति अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित भएका छन् भने समितिको सदस्य सचिवको जिम्मेवारी स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले पाएकी छन् ।
निःशुल्क सेवा लिन सहज होस भनेर समिति गठन गरिएको मेयर बालेनले बताए । लक्षित वर्गले प्रभावकारी रुपमा निःशुल्क उपचार प्राप्त गर्नका लागि समितिले सहजीकरण गर्ने मेयर बालेनको भनाइ छ ।