२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, छ महिनामा ७ खर्ब ३३ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।
यस अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।