हप्तौंदेखि शेयर विक्रीको भुक्तानी नपाउँदा लगानीकर्ता तनावमा, नयाँ ब्रोकरको पनि उस्तै ताल, के गर्दैछ नियामक ?
काठमाडौँ । पछिल्लो समय ब्रोकर कम्पनीले हप्तौंसम्म शेयर विक्रीको रकम भुक्तानी नगरेको भन्दै लगानीकर्ता तनावमा परेका छन् । शेयर बेचेको २४ घण्टाभित्र ईडीआईएस नगर्दा क्लोजआउटमा पर्ने गरेका लगानीकर्ता ब्रोकर कम्पनीले लामो समयसम्म भुक्तानी नदिँदा तनावमा परेका हुन् ।
ब्रोकरमाथिको दिक्दारी ‘फ्रस्टेशन’ लगानीकर्ताहरु सामाजिक सञ्जालमा उतारिरहेका छन् । कतिपयले त्यस्ता ब्रोकरविरुद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उजुरी समेत हालेका छन् । समय मै ईडीआईएस नगर्दा लगानीकर्ताले क्लोजआउटको मार खेपिरहेका छन् ।
उनीहरुले शेयर बेचेको २४ घण्टाभित्र ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना तिर्नुपर्ने व्यवस्था छ । यो आर्थिक वर्षको ६ महिनासम्म लगानीकर्ताले २ करोड ७३ लाख भन्दाबढी रकम क्लोजआउट बापत जरिवाना तिरिसकेका छन् । तर, ब्रोकर कम्पनीको मनपरी रोकिएको छैन । हप्तौं वित्दा पनि उनीहरुले रकम पठाइरहेका छैनन् ।
हाल नेपालमा शेयर कारोबारको राफसाफ समयमा गर्ने गरिएको छ । शेयर खरिद गरेको अर्को कार्यदिनसम्ममा बाँकी रकम खरिदकर्ताले भुक्तानी गरिसक्नु पर्ने र शेयर विक्री गरेको अर्को कार्यदिनसम्म शेयर विक्रिकर्ताले ईडीआईएस गरी ‘टी प्लस टू’मा राफसाफ भई ब्रोकर कम्पनीको खातामा खरिद गरेको शेयर तथा विक्री गरेको शेयरको रकम जम्मा हुने गर्दछ ।
यसरी शेयर विक्री बापत ब्रोकर कम्पनीको खातामा प्राप्त भएको रकम शेयर विक्रिकर्ताको बैंक खातामा विद्युतीय प्रणाली मार्फत् पठाउने गरिएको छ । तर, पछिल्लो समय ब्रोकरहरुले समय मै पैसा नपठाउँदा लगानीकर्ता निराश बनेका छन् ।
प्राविधिक समस्या भन्दै गुनासो टालटुलमा लाग्यो स्टक ब्रोकर एशोसिएशन
लगानीकर्ताहरु समयमा शेयर विक्रीको भुक्तानी नपाएको गुनासो लिएर धितोपत्र बोर्ड पुग्न थालेपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपाल भने आफ्नो कमजोरी टालटुल पार्नतिर लागिपरेको छ । ब्रोकरहरुको एशोसिएशनले विद्युतीय भुक्तानी प्रणालीमा समस्या आएका कारण शेयर विक्रिको रकम भुक्तानीमा ढिलाई भएको विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । लगानीकर्ताले बोर्ड मै उजुरी दिन थालेपछि एशोसिएशन भने उम्किनका लागि अनेक बहाना खोजिरहेको छ ।
माघ ३ र ४ गते ठूलो परिमाणमा तथा धेरै पटक शेयर कारोबार भएको र माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भएपनि माघ ४ गते बेलुकीबाट ट्रेड म्यानेजमेन्ट सिस्टम मर्मतको लागि बन्द भएका कारण टिएमएसमा माघ ७ गतेमात्र बिल जेनेरेट भएको तथा माघ ४ र ५ गते राफसाफ भएका बिलहरुको भुक्तानी माघ ७ गतेदेखि मात्र भुक्तानी प्रोसेसिङ्ग गर्न सकिएको एशोसिएशनले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
ब्रोकरहरुले पैसा नदिने समस्या नौलो होइन । यो रोगले गाँजेको लामै समय भइसकेको सुजन केसीले बताए । ‘मेरो ब्रोकरहरुले कहिल्यै समयमा पैसा हालेको छैनन् । शेयर विक्री गरेपछि एक चोटी फोन नगरेसम्म पैसा आउँदैन’, उनले भने, –‘म पर्साको मान्छे काठमाडौँमा अफिस भिजिट गर्न आउन सक्दिन । ब्रोकरहरुको मनपरीले हामीले कष्ट भोग्नु परिरहेको छ ।’
ब्रोकर कम्पनीले स–साना लगानीकर्ताको रकम होल्ड गरेर पहुँच भएकाहरुको मात्रै समयमा रकम भुक्तानी गर्ने गरेको रमित केसीको भनाइ छ । उनले भने, ‘ब्रोकर कम्पनीहरुले साना र ठूला लगानीकर्ताबीच पनि भेदवाभ गरिरहेका छन् । स्वदेशमा रहेका ठूला लगानीकर्ताले फोन गर्ने वित्तिकै हालिदिन्छन् । हामी जस्तो विदेशमा रहेकाहरुको होल्ड गरेर राख्छन् ।’
नयाँ ब्रोकरको पनि पुरानै चाल
अनेकौं उतार चढावकाबीच ४३ वटा कम्पनीले नयाँ स्टक ब्रोकर लाइसेन्स प्राप्त गरे । तत्कालका बोर्डका अध्यक्ष रमेश हमालले ब्रोकर कम्पनीको लाइसेन्स वितरणका लागि ठूलो चलखेल गरेका थिए । बजार प्रतिस्पर्धी बनाउन पर्ने भन्दै हमालले स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाअघि बढाएका थिए । तर, उनी ब्रोकरहरुलाई मात्र लाइसेन्स दिन सफल भए ।
लगानीकर्ता समेत बजार प्रतिस्पर्धी बनाउन भन्दै नयाँ ब्रोकर लाइसेन्सको माग राख्दै आएका थिए । तर, तिनै ब्रोकरको समेत पुरानै ब्रोकरहरु कै जस्तो हविगत देखिएको छ । उपयुक्त तालिमको अभावका कारण नयाँ ब्रोकर कम्पनीका कर्मचारीले गुणस्तरीय काम गन नसकेको भन्दै आलोचना समेत भइरहेको छ । लगानीकर्ताले ठूलो विश्वास गरेका नयाँ ब्रोकरहरु समेतले समय मै शेयर विक्रिको पैसा नपठाएको गुनासाहरु बोर्डमा उजुरी पर्न थालेका छन् ।
विद्युतीय भुक्तानी प्रणालीमा समस्या आएका कारण सबै प्रभावित हुन पुगेको विद्युतीय भुक्तानी प्रणालीमा समस्या आएका कारण सेयर बिक्रीको पैसा समय मै हस्तान्तरण गर्ने सबै कम्पनीहरुलाई सकस परेको धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल बताए । ‘पैसा नभएर दिन सक्ने नक्सने भन्ने कुरा है यो प्राविधिक समस्या मात्र देखिएको हो । अहिले समाधान भइ सकेको छ’ ढकालले भने ।
पहिले देखि समयमा पैसा नआएको गुनासो आएको भएपनि अहिले आएको समस्या प्राधिकरण कारणले हो । उनले भने, ‘पहिलेदेखि केहि ब्रोकहरुले पैसा नदिएको गुनासा नआएको होइन तर ब्रोकरहरुमा समस्या त आउँदैन ।’
मन्द कोठामा बन्द नियामक
लगानीकर्ताका स–साना गल्तीमा पनि भ्याट्टै जरिवाना काटिहाल्ने नियामक निकाय ब्रोकरहरुले लामो समयसम्म शेयर विक्रिको पैसा नपठाउँदा पनि मुकर्दशक बनिरहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डमा गुनासो राख्दा समेत त्यसबारे कुनै कारबाही अघि बढाएको छैन ।
नियामक निकायमा लगानीकर्ताले ब्रोकरले समय मै रकम भुक्तानी नदिएको गुनासाका चाङ लागेका छन् । ब्रोकरले फोन नउठाउने, फोन नगरेसम्म शेयर विक्रिको पैसा भुक्तानी नहुने र पैसा पठाउन आलटाल गर्ने गरेको भन्दै लगानीकर्ताले धितोपत्र बोर्डमा अनलाइन तथा व्यक्तिगत उपस्थितिमार्फत उजुरी दर्ता गराएका छन् । उनीहरुले ब्रोकरलाई कारबाहीको समेत माग गरेका छन् ।
यता, बोर्ड अहिले कार्यवाहक अध्यक्षको भरमा चलिरहेको छ । जसको जिम्मेवारी कर्मचारी मध्येबाट नवराज अधिकारीले पाएका छन् । नियामक निकाय नै कार्यबाहकको भरमा चल्दा नीतिगत प्रक्रिया तथा आवश्यक कारबाहीले गति लिन सकेको छैन । कार्यबाहक अध्यक्षले समयमा शेयर विक्रिको पैसा नपठाउने ब्रोकर कम्पनीलाई कारबाही गर्न सक्छन् कि सक्दैन भन्ने मै अन्योल छ ।
पछिल्लो समय ब्रोकर कम्पनीले समय मै पैसा हस्तान्तरण नगरको उजुरी बढिरहेको बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटा बताए । उनले भने, ‘ब्रोकरहरुले समय मै पैसा नदिएको भन्दै उजुरी आइरहेका छन् । त्यसमा सम्बन्धित शाखाले अध्ययन गरिरहेका छन् । त्यसपछि आवश्यक कारबाही अघि बढ्छ ।’