रेष्टुरेन्ट व्यवसायी जीवन श्रेष्ठको लोभलाग्दो प्रगति, सिटिजन लाइफको अभिकर्ता बनेर बीमा व्यवसायमा रमाउँदै
काठमाडौं । सिन्धुलीमा जन्मेका जीवन श्रेष्ठ एक सफल रेष्टुरेन्ट व्यवसायी हुन् । विगत १६ वर्षदेखि रेष्टुरेन्ट व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको जीवन श्रेष्ठको आजकल परिचयमा बीमा अभिकर्ता पनि थपिएको छ ।
रेष्टुरेन्टसँगै बीमा अभिकर्ता पेशालाई निरन्तरता दिइरहेका जीवन श्रेष्ठले मुलुकभित्रै सफलताका अनेक सुत्र पहिल्याएका छन् । तीन वर्षअघि सिटिजन लाइफमा आबद्ध भएदेखि उनको परिचयमा बीमा अभिकर्ता पनि थपिएर रेष्टुरेन्ट व्यवसायसँगै जीवन बीमा पनि जोडिन पुगेको छ ।
नेपालमा जीवन बीमाको प्रचुर सम्भावना रहेको बताउने श्रेष्ठ तर, नीति निर्माण तहका जिम्मेवार निकायले दुरदर्शीता अपनाउन नसक्दा परिवार पाल्नकै लागि युवाहरु विदेशिनु परेको र रोजगारी कै लागि कयौँ संघर्ष गरिरहेको यथार्थलाई स्वीकार्नुको विकल्प नभएको पनि सुनाउँछन् । नेपालको बीमा व्यवसाय, बीमा बजारको अवस्था र बीमा अभिकर्ताको अवस्था एवम् भविष्यलगायत विषयमा केन्द्रित रहेर सिटिजन लाइफ इन्स्योरेन्स टोखा शाखाका एजेन्सी म्यानेजर, जीवन श्रेष्ठसँग रिना खत्रीले गरेको कुराकानीः
तपाई बीमा क्षेत्रमा कसरी आवद्ध हुनुभयो ?
–मलाई सुरुमा बीमा सम्बन्धि ज्ञान थिएन । मैले रेष्टुरेन्ट व्यवसाय गरिरहँदा बीमा सम्बन्धि विभिन्न कार्यक्रम भइरहँदा यो पेशाप्रति चासो जाग्यो । बीमासम्बन्धी कार्यक्रम भइरहँदा र उहाँहरुले सम्मान पाएको देख्दा मलाई यो पेशा राम्रो रहेछ, यसमा काम गर्दा समाजमा इज्जतसँगै प्रतिष्ठा पनि हुने रहेछ भन्ने थाहा पाएँ । र, यो पेशामा आवद्ध भएँ ।
तपाइको विचारमा बीमा अभिकर्ता पेशा सेवामूलक कर्म हो कि व्यवसायमूलक कर्म हो जस्तो लाग्छ ?
–यसमा बीमितको जोखिम बहन गरिने, बीमित विरामी हुँदा आर्थिक सहयोग हुने । बीमितलाई निरन्तर सेवा प्रवाह गरिरहनुपर्ने भएकाले यो सेवा पनि हो । र, यसबाट अभिकर्तालाई पनि आर्थिक मद्दत पुग्ने भएकाले यो पेशा कर्म पनि हो ।
अभिकर्ता बनेर काम गरिरहँदा अन्य जीवन बीमा कम्पनी र सिटिजन लाइफमा फरक पाउनुभयो ?
–मैले सिटिजन लाइफमा धेरै अन्तर पाएको छु । सर्वप्रथम त डिजिटल सेवा सबैभन्दा पहिला सिटिजनमै आएको हो । यसमा धेरैजसो प्रकियाहरु विद्युतीय वा भनौं अनलाइन माध्यमबाटै गरिन्छ । त्यसमाथि पनि बीमितले रोजेको र खोजेको बीमा पोलिसी प्रसस्त मात्रामा भएकाले पनि मलाई सिटिजन लाइफ इन्स्योरेन्स एकदमै राम्रो लाग्छ ।
बीमा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
–म विगत १५–१६ वर्षदेखि रेष्टुरेन्ट पेशा गरिरहेको मान्छे । जब मैले मेरो रेष्टुरेन्टमा बीमा कार्यक्रमहरु गरेको देखे, विभिन्न व्यक्तित्वलाई सम्मान गरेको पनि देखे र बीमाले कसरी आम मानिसको जोखिम बहन हुने र यसले सामाजिक तथा आर्थिक अवस्थामा राम्रो प्रभाव पार्न सक्ने देखेपछि यो क्षेत्रमा प्रवेश गर्न इच्छा जागेर आयो ।
बीमा अभिकर्ता पेशामा आउनुअघि बीमा बुझ्नुभएको थियो ?
–मैले यो पेशामा आवद्ध हुनुअघि मलाई केही पनि थाहा थिएन । साथीहरुले बीमा गर्नुपर्छ त भन्थे तर खासमा बीमा भनेको के–हो ?, यसले कसरी काम गर्छ ?, यसका राम्रा पक्षहरु के–के हुन ? र यसले कसरी जोखिम बहन गर्छ ? जस्ता कुराहरु भनेका थिएनन् । बीमा गरेपछि डबल पैसा आउछ, मरेपछि पनि पैसा आउछ भन्ने जस्ता कुराहरु त साथीहरुबाट सुनेको थिए । तर, जब म यो पेशामा लागे तब मात्र मलाई बीमा भनेको त यस्तो पो रहेछ ! बीमाले कसरी जोखिम बहन हुने रहेछ र यसको सकारात्मक पाटोहरु के–के हुन भनेर थाहा पाएँ ।
तपाई बीमा अभिकर्ताको परिभाषा कसरी दिनुहुन्छ ?
–बीमा भनेको विशुद्ध सेवामूलक पेशा हो । बीमा नबुझेका लागि शिक्षा दिन पाउने, सेवा सुविधा दिन पाउने र उसको जोखिम बहन गर्दै विपत्तिमा साथ दिन पाउने यो पवित्र पेशा हो । यसमा आवद्ध हुन चाहने नयाँ साथीहरुलाई म भन्न चाहन्छु कि तपाइहरु बीमाको बारेमा सबै कुरा बु्झेर मात्र यसमा प्रवेश गर्नुहोस् यो एकमदै पवित्र र प्रतिष्ठित पेशा हो । यसले आर्थिक र सामाजिक रुपमा एउटा सामान्य व्यक्तिलाई निकै सबल तुल्याउछ ।
तपाईले आफ्नो पहिलो बीमा कसरी गराउनु भयो ?
–यो कुरा सम्झिदा म आफैलाई अचम्म लाग्छ । जब मैले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेर रेष्टुरेन्ट व्यवसायमा लागेका मेरै एक जना साथीलाई ल है, म त बीमा अभिकर्ता पेशामा लागे अब बीमा गराउनुपर्छ भनेको थिए । उसले मेरो एक बचनमै आफ्नो बीमा गरायो । त्यहाँदेखि मेरो टर्निङ पोइन्ट सुरु भयो । हुँदै जादा मैले पहिला बीमाको बारेमा राम्रोसँग बुझाएर मात्र बीमा गर्न सकिने रहेछ भन्ने अनुभव पाए ।
तपाईको बिचारमा सफल अभिकर्ता कस्तो हुन्छ ?
–मेरो विचारमा सफल अभिकर्ता बन्नका लागि उसले सुरुमा बीमाबारे सबैखाले ज्ञान राख्नुपर्यो । कम्पनीका पोलिसी के–के छन् । यसले के–के फाइदा हुन्छ ? लगायत बीमाबारे सबै ज्ञान राखेको हुनुपर्छ । पार्टटाइम बीमा गराउने व्यक्ति पनि सफल अभिकर्ता बन्न सक्छ । उसमा लगनशीलता भने हुनैपर्छ । मैले मेरो घर परिवारको बीमा गराए, अब भयो, मैले मेरो साथीभाइको बीमा गराए अब पुग्यो, मेरो टार्गेट पुरा भयो भनेर मात्रै पुग्दैन । बीमितको अवस्था हेरेर उसलाई राम्रोसँग बुझाएर कतिसम्मको, कस्तो बीमा गर्दा बीमितलाई अधिकतम लाभ हुन्छ यो सबै कुराको विचार गरेर बीमा गराउने र बीमितसँग निरन्तर सम्पर्कमा बस्ने अभिकर्ता नै मेरो नजरमा सफल अभिकर्ता हो ।
बीमा गराइसकेपछि अभिकर्ताले बीमितप्रति निभाउनुपर्ने दायित्व के के हुन् जस्तो लाग्छ ?
–एकदमै राम्रो प्रश्न गर्नुभयो । मुख्य समस्या भनेको यहाँनेर छ । अभिकर्ताले बीमितको अवस्था नबुझि सकेसम्म धेरै प्रिमियमको बीमा गराउन खोज्ने तर निरन्तरता नदिने गर्ने समस्या व्याप्त छ । जस्तो एउटा बीमितलाई १५ वर्षको बीमा गराइयो । ती बीमितले १५ वर्षसम्म प्रिमियम तिर्न सक्छन् वा सक्दैन ? त्यो गणना नगर्ने ! आफ्नो निजी स्वार्थ र फाइदाका लागि बीमित मारमा पर्न सक्ने खालको बीमा गराइदिनु हुँदैन । पहिला बीमितको आय आर्जन कति छ ? सोही अनुसार बीमा गराइदिनुुपर्छ । सुरुमा ठूलो सपना देखाइदिने र पछि बीमितले प्रिमियम तिर्न नसकेर बीमा सरेन्डर गर्ने अवस्था आउनसक्छ ।
अनि अर्काे कुरा, अभिकर्ताले बीमितको बीमा गराएपछि मेरो काम सकियो, अब मैले त्यतातिर ध्यान नदिए पनि हुन्छ, अब उसले मलाई बीमा दिने हैन भनेर लापर्वाही गरेको पनि देखिन्छ । त्यस्तो गर्नै हुँदैन । उसले हरेक वर्ष प्रिमियम तिर्दा उसको अवस्थाबारे बुझ्नुपर्छ । सन्चो विसन्चो के छ ? केही समस्या परेको छ छैन ? सोध्नुपर्छ । अनि बल्ल बीमितलाई पनि अभिकर्ताप्रति विश्वास हुन्छ । यति गराउन सकियो भने उसले आफ्नो साथीभाई आफन्तलाई पनि बीमा गर्न प्रेरित गर्छ । अनि पो बढ्छ त बीमा !
बजारमा विद्यमान दाबी भुक्तानीको समस्या छ यस्तो किन हुन्छ ?, यसले बीमा क्षेत्रमा भविष्यमा के असर पार्ला ?
–स्वभाविक प्रश्न गर्नु भयो । दाबीको कुरोमा के हुन्छ भने, तपाइले प्रिमियम तिर्ने समयमा प्रिमियम तिरिरहनु भयो भने दाबीमा कुनै पनि समस्या आउदैन । बीमितले समयमै प्रिमियम नतिरेपछि पोलिसी मर्छ । यो भएपछि यसबीचमा बीमितलाई केही भयो भने कम्पनीले दाबी भुक्तानी दिदैन । किनभने कम्पनीले दिएको समयमा प्रिमियम तिर्नपर्ने हुन्छ । प्रिमियम तिर्न छुटाएपछि पोलिसी बन्द हुन्छ । यो कुरा बीमितलाई थाहा हुदैन, बीमा गराउने अभिकर्ताले बताएका हुदैनन् । अनि यसै कारणले निम्तिन्छ, दाबी भुक्तानीको समस्या ।
यो र यस्ता कुराहरु बीमा गराउदा नै अभिकर्ताले बीमीतलाई राम्रोसँग बुझाइसकेको हुनुपर्छ । यति कुरामा ध्यान दिइयो भने भोलि दाबी भुक्तानीमा कुनै समस्या हुँदैन । सजिलै भुक्तानी पाइन्छ ।
बीमा गर्दा बीमीतले पोलिसी अध्ययन नगर्ने र पुरै अभिकर्तामा मात्रै निर्भर रहने प्रवृत्तिले पनि समस्या आएको छ भनिन्छ नि, पक्का हो ?
–यो पनि बीमा क्षेत्रमा एउटा विद्यमान समस्या नै हो । बीमितले पोलिसी नबुझि अभिकर्तामा मात्रै निर्भर रहने भन्दापनि पोलिसीको बारेमा राम्ररी बुझेर बीमा गराउनु निकै उचित हुन्छ । अभिकर्ताले पनि बीमितलाई पोलिसीमा भएको सबै कुराहरु राम्रोसँग बुझाएर मात्र बीमा गराउनुपर्छ । बीमितले बीमा गर्दा त्यसको पोलिसी र प्रावधान तथा दाबी भुक्तानी प्रकियाबारे सबै राम्ररी बुझेको हुनुपर्छ ।
तपाइले हालसम्म कति बीमा पोलिसी विक्री गर्नु भयो ?, अनि दाबी भुक्तानी कति वटा ?
–मैले १०० माथि बीमा पोलिसीहरु विक्री गरिसके । भगवानको कृपाले होला, मैले बीमा गराएको कुनै पनि बीमितलाई आजसम्म केही भएको छैन । त्यसकारण एउटा पनि दाबी भुक्तानी भएको छैन । तर, मैले बीमा गराएको कुनै पनि बीमितलाई केही भइहालेमा तुरुन्तै दाबी भुक्तानी उपलब्ध गराउन म हरक्षण हरघडी तत्पर छुँ ।
तपाइको कम्पनीको दाबी भुक्तानीप्रति बीमितहरुको प्रतिक्रिया के छ ?
–हाम्रो कम्पनी असाध्य पुरानो पनि होइन् । हाल ६ वर्ष भयो । त्यसकारण पनि त्यति ठूलो दाबी भुक्तानी परेको छैन । बाहिर हेर्दा बीमा कम्पनीहरुले क्राइटेरिया राखेको हुन्छ । यो–यो क्राइटेरियामा यस्तो दिन्छु पनि भनेको हुन्छ । त्यो बेट नगरेकाले चाही पाएको छैन ।
नेपालमा बीमा अभिकर्ता पेशालाई कस्तो रुपमा हेरिन्छ ?
–नेपालको सन्दर्भमा हेर्दा बीमा एजेन्ट भन्दा एउटा दलालको रुपमा बुझ्ने गरिन्छ । भन्सारको एजेन्ट भन्दा चाँहि राम्रो नजरमा हेरिन्छ, है । कम्पनी त एजेन्ट बीना चल्न गाह्रो छ । अन्य देशमा बीमा एजेन्ट भन्दा एकदमै राम्रो रुपमा नै हेर्ने गरिएको छ । नेपालको सन्दर्भमा भने अलिक फरक किसिमले हेर्ने गरेको पाइन्छ ।
बीमा सचेतना कार्यक्रम सरकारले नै दिने हो कि कम्पनीले नै गर्छ ?
–खासमा बीमा सचेतना सरकारले नै गर्नुपर्ने हो । हामी त सरकारको सहयोगी भएर बीमा गराउने हो । जस्तो नेपाल सरकारले ३५ सयको एउटा स्वास्थ्य बीमा ल्याएको छ । त्यो आर्थिक रुपमा कमजोर वर्गका मानिसहरुका लागि एकदमै उपयोगी बीमा हो । यसमा बीमितले एक लाखसम्मको उपचार पाउछ । हामीले पहिले पनि उपचार गर्न नसकेर कयौंको ज्यान गएको सुनेका छौं, देखेका पनि छौं । यसमा नेपाल सरकारले जीवन बीमा पनि जोडेर बीमा अनिवार्य गरिदियो भने यो एकदमै उपयोगी सावित हुन्छ । त्यस कारण यसमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
अभिकर्ता बन्न परीक्षा दिनुपर्ने व्यवस्थाप्रति तपाइको धारणा के छ ?
–बीमा प्राधिकरणले अभिकर्ता बन्न परीक्षा दिनुपर्ने व्यवस्था ल्याउनु एकदमै राम्रो कुरा हो । अझ सम्बन्धित कम्पनीले अभिकर्तालाई सकेसम्म क्लास दिएर कम्पनीको बीमा पोलिसीबारे सबै कुरा बुझाएर मात्र फिल्डमा खटाए अझै राम्रो हुनेथियो । परीक्षा पास गरेर बन्ने एजेन्ट भनेको बीमा बुझेको एजेन्ट हो । यसले अब सफल बीमा अभिकर्ता जन्माउन धेरै सहयोग गर्छ । यसरी आउने एजेन्ट दीर्घकालीन हुने र बीमाको बारेमा बुझाउन सक्ने पनि हुन्छन् । यो सकारात्मक पक्ष हो ।
आउदै गरेको बीमा नियमावलीमा अभिकर्तालाई दलालको रुपमा परिभाषित गरिएको छ, यसले कस्तो असर पार्ला?
–नेपाली समाजमा एजेन्ट भन्नेवित्तिकै नराम्रो नजरले हेर्ने गरिन्छ । एजेन्ट वा दलाल भनेर नराखेको भए राम्रो हुन्थ्यो । मेरो विचारमा चाँहि । बीमा अभिकर्ता भन्दा हेर्ने नजर भने सकारात्मक नै छ ।
तपाइले बीमा गराइरहदा कुनै बीमितलाई लामो समयसम्म बुझाएर मात्र बीमा गराउन सफल भएको कुनै उदाहरण छ ?
–मैले बीमा गराउदा आजसम्म त्यस्तो गाह्रो साह्रो त भएको छैन । तर, मेरै रेष्टुरेन्टमा आइरहने एउटा भाइथियो, जसलाई मैले बीमा गर्नुपर्छ है भाई भनेर भनेको थिए । उसले तत्काल त बीमा गरेन तर त्यसको लगभग एक वर्षपछि उ आफैले फोन गरेर दाई म बीमा गर्न चाहन्छु मेरो बीमा गराइदिनुस, भनेर भनेको थियो । त्यो भाइको मैले बीमा गराइसके । मलाई के लाग्यो भने बीमाको बारेमा राम्रोसँग बुझाउदा उसले आफ्नो नाजुक परिस्थित वा अन्य कुराले गर्दा तत्काल बीमा गर्न असमर्थ रहेपनि अवस्था अनुकुल भएपछि आफैले सम्झेर पनि बीमा गर्न आउने रैछ भन्ने महसुस भयो ।
बीमा अभिकर्ता पेशामा लागेर भविष्य बनाउन सकिन्छ कि पार्टटाइम मात्र गर्दा ठीक हुन्छ ?
–यसमा फूल टाइम गर्न चाहनुहुन्छ भने यो एकदमै राम्रो छ । तर, यदि तपाइको कुनै छाड्न नमिल्ने व्यवसाय छ भने मात्र पार्टटाइम गर्ने हो । मेरो रेष्टुरेन्ट व्यवसाय नभएको भए म पनि फूल टाइम नै गर्थे । म फूल टाइम यसमा लाग्न सकेको भए मैले यो भन्दा पनि धेरै बीमा गराउन सक्थे । तपाई दुबै पेशा गरिरहेको मान्छे, तपाइलाई व्यापार व्यवसाय राम्रो लाग्यो कि अभिकर्ता ?
–यो दुबै पेशा सेवामूलक भएको हुनाले दुबै समान नै लाग्छ । एउटा पेशामा बीमितको सेवा गर्न पाइन्छ भने अर्काे पेशामा ग्राहकको । त्यसमाथि म पहिल्यैदेखि सर्भिस सेक्टरमा काम गरिरहेको मान्छे भएर पनि होला दुबै काम समान लाग्छ, मलाई ।
अभिकर्ता पेशामा आएपछि तपाइको जीवनशैलीमा केहि परिवर्तन भएको छ ?
–म बीमा अभिकर्ता पेशामा आवद्ध भएपछि मेरो कार्यशैली र जीवनशैलीमा धेरै समारात्मक परिवर्तनहरु भएका छन् । हिजोसम्म सिमित मान्छेले मात्र चिन्ने मलाई अहिले यो पेशामा लाग्दा धेरै मान्छेले चिन्ने भए । अहिले कहिँकतै बीमासम्बन्धी केही कुरा उठेमा वा विवाद भएमा मान्छेहरुले मलाई फोन गरीगरी पनि सोध्ने गर्छन् । मैले पाउने सम्मानदेखि लिएर सेवाग्राहीबाट पाउने विश्वाससम्म धेरै कुराहरुमा सकारात्मक परिवर्तन भएका छन् ।
बीमा अभिकर्ता पेशालाई स्वतन्त्र पेशा भनिन्छ, किन होला ?
–एक त यो बीमा अभिकर्ता पेशामा कसैले पनि करकाब गरेको हुँदैन । तैले यस्तो गर्नेपर्छ, यहाँ नआई हुँदैन भन्ने हुँदैन । आफूलाई अनुकुल पर्ने समयमा निस्कन पाइन्छ । कसैले तैले १० वटा पोलिसी ल्याइस ल्याइनस पनि भन्दैनन् । आफ्नो काम निर्धक्क भएर स्वतन्त्र रुपमा गर्न सकिन्छ । त्यसकारण पनि यो पेशा स्वतन्त्र पेशा हो ।
बजारमा बीमितले कस्ता खालको पोलिसी धेरै रोज्छन् ?
–बजारमा बीमित आफू जुन पेशामा आवद्ध छ वा आफूलाई जुन पोलिसीले धेरैभन्दा धेरै फाइदा हुन्छ, त्यस्तै पोलिसी रोज्छन् । कुनै एउटै पोलिसी मात्र धेरैले रोज्ने भन्ने हुँदैन । अझ म त बीमितको पेशा व्यवसायको अवस्था हेरेर तपाईलाई यो पोलिसी उपयोगी हुन्छ भनेर नै बीमा गराइदिने गरेको छु ।
बीमा गरिबका लागि हो वा पूँजीपतिहरुका लागि ?
–बीमा पूँजीपति वा गरिबका लागि भन्ने हुदैन । यो त सबैका लागि हो । तर अलिकति विश्लेषणात्मक ढंगले हेर्ने हो भने गरिबका लागि यो झन अपरिहार्य छ । किन भने गरिबले भविष्यमा ठूला रोग लागेको अवस्थामा उपचार गर्न सक्दैनन् । यस्तो अवस्थामा बीमाले हेर्छ । धनीसँग त यस्तो अवस्था आउँदा खर्चिने सामथ्र्य हुन्छ । यसकारणले पनि बीमा गरिबका लागि अझै धेरै आवश्यक कुरा हो ।
आर्थिक मन्दीले बीमा क्षेत्रमा कस्तो असर परेको छ ?
–आर्थिक मन्दीले प्रभाव त सबै क्षेत्रमा परेको छ । मन्दीको कारणले गर्दा सबैको आय आर्जन खुम्चिएको छ । आर्थिक मन्दीमा पनि बीमा भइरहेको त छ, तर कम मात्रामा । बीमा पोलिसी विक्री पनि खुम्चिएको छ । मेरो बीमितले त भनेका छैनन् तर मार्केटमा सुनेअनुसार आर्थिक मन्दीले गर्दा बीमितले गाह्रो भयो, व्यवहार चलाउन मुस्किल भयो भनेर बीमा परिपक्व नहुँदै बीमा गरेको तथा जम्मा भएको रकम माग्न आउनुभएको पनि सुनिन्छ ।
नयाँ बीमा ऐन बनाउदा अभिकर्तालाई सामेल गरिएन भने के होला ?
–बीमा प्राधिकरणले हामीलाई ओझेलमा राखेको जस्तो देखिन्छ । अभिकर्ता भएर नै बीमा क्षेत्र चलेको छ । हामी भनेको बीमाको मेरुदण्ड हौं । बीमित आफै आएर बीमा गराउने हैन । अभिकर्तामार्फत बीमा गराइने हो । २०औं वर्षदेखि अभिकर्तालाई दिइएको सेवा सुविधा घटाउने कुरो छ । मार्केटमा हेर्ने हो भने अहिले महंगी निकै बढिसकेको छ । यस्तो अवस्थामा सेवा सुविधा बढाउनुपर्नेमा झन घटाएर हुन्छ ? अनि, अर्काे कुरा प्राधिकरणलाई वा कम्पनीलाई मार्केटको बारेमा त थाहा छैन । मार्केट बुझेको भनेको अभिकर्ताले नै हो । त्यही कारण पनि ऐन बनाउदा अभिकतालाई सामेल गर्नुपर्ने हो । यसमा प्राधिकरणले बेवास्ता गरेको पक्कै हो ।
अन्य पेशा र अभिकर्ता पेशाको जोखिम हेर्दा के मा बढी देख्नुहुन्छ ?
–म रेष्टुरेन्ट व्यवसायी पनि हुँ । आर्थिक मन्दीको कारण व्यवसाय राम्रो चल्न सकेन । ग्राहकहरु आउन छाडे भने मेरो व्यवसाय त धरापमा पर्छ । मैले स्टाफहरुलाई तलब दिनुपर्छ त्यसमाथि आफ्नो लगानी फसेको छ । तर बीमा पेशामा त मैले ल्याउन सकिन भन्दा पनि केही फरक पर्दैन । ल्याउन सकियो गर्न सकियो भने त फाइदा नै भैगो । तर, ल्याउन नसके पनि केही फरक पर्दैन । त्यसमा लगानी पनि हुदैन ।
बीमा अभिकर्ताको भविष्य थप उज्वल बनाउन नेपाल सरकार, बीमा प्राधिकरण वा कम्पनीले के गर्नु पर्ला ?
–मेरो विचारमा नेपाल सरकारले वा कम्पनीहरुले अभिकर्ताहरुलाई थप सेवा सुविधा वा बीमा अनिवार्य गरिदिए थप सहज हुने थियो । त्यसपछि सरकारी जागिरका लागि लडिरहनु पर्दैन । परिवार पाल्न विदेश पनि जानुपर्दैन थियो, जस्तो लाग्छ मलाई ।