सेबोनमा नेतृत्वको अलमल, १३ ठूला कम्पनी लामो समयदेखि आईपीओ स्वीकृतिको पर्खाइमा

१५ माघ २०८०, सोमबार १८:१४

काठमाडौं । रमेश हमालको कार्यकाल सकिएपछि नेतृत्व चयनमा अलमल भइरहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)मा डिश मिडियासहित १३ ठूला कम्पनी लामो समयदेखि आईपीओ स्वीकृतको पालो कुरिरहेका छन् । सेबोनमा ति कम्पनीहरुले १३ अर्ब ५५ करोड ७२ लाख ९६ हजार ५६५ रुपैयाँ बराबरको ८ करोड ६६ लाख ३४ हजार ८०० कित्ता शेयरको आईपीओ निष्कासको अनुमति कुरिरहेका हुन् ।

सेबोनमा नयाँ अध्यक्षको नियुक्ती हुन सकेको छैन् भने निमित्तमार्फत प्रशासनिक कामहरु भइरहेको भएतापनि नीतिगत निर्णयहरु भने हुन सकेको छैन् । जसकारण आईपीओ निष्काशन गर्न कुरिरहेका कम्पनीहरु लामो समयदेखि स्वीकृति पर्खिरहेका छन् ।

डिश मिडिया नेटवर्क लिमिटेडले सर्वसाधरणका लागि १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्काशनको अनुमति मागेको छ । यसमा बोर्डले कागजात नपुगेको भन्दै थप आवश्यक कागजात मगाएको छ ।

याम्बलिङ हाइड्रोपावर लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनको माग राखेको छ । त्यस्तै, अपेक्स हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि २४ करोड रुपैयाँ बराबको २४ लाख कित्ता शेयर निष्काशनको माग राखेर बोर्डमा निवेदन दिएको छ । बोर्डले दुबै कम्पनीलाई आवश्यक थप कागजात पेश गर्न भनेको छ ।

त्यसैगरी, एसवाई प्यानल नेपालव लिमिटेडले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर सर्वसाधारण्मा निष्काशनका लागि बोर्डको अनुमति कुरेर बसिरहेको छ । यसमा बोर्डले थप कागजात पेश गर्न निर्देशन दिएको छ ।

यता, ओर्चिड होल्डिङ्स लिमिटेडले १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ ।

विकास हाइड्रोपावर लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनका लागि बोर्डको अनुमति पर्खेर बसेको छ ।

त्यस्तै, रिज लाइन इनर्जीले स्थानीय तथा सर्वसाधारणका लागि ५८ करोड ४ लाख २० हजार एक सय रुपैयाँको ५८ लाख चार हजार २०१ कित्ता शेयर निष्काशनको माग राख्दै बोर्डमा निवेदन दिएको छ ।

लाफिङ बुद्ध पावर नेपालले पनि स्थानीय र सर्वसाधारणका लागि ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता शेयर निष्काशनको मागसहित बोर्डमा निवेदन पेश गरेको छ ।

यता, हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेडले प्रिमियममा ३२ करोड ४० लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता शेयर निष्काशनका लागि बोर्डको अनुमति कुरेर बसिरहेको छ ।

त्यसैगरी, सौर्य सिमेन्ट इन्डस्ट्रिजले स्थानीय र सर्वसारधणका लागि प्रिमियममा ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५६५ रुपैयाँमा एक करोड ५९ लाख ८१ हजार ५०० कित्ता शेयर निष्काशको लागि बोर्डमा निवेदन पेश गरेको छ ।

अन्नपूर्ण केबल कारले स्थानीय र सर्वसाधारणका लागि ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । त्यस्तै, बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँमा २४ लाख ७५ हजार कित्ता शेयर निष्काशनको माग राखेर बोर्डमा पत्र पेश गरेको छ ।

यता, मारुती सिमेन्ट्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि प्रिमियममा ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर निष्काशको माग राख्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*