त्रिभुवन विमानस्थलमा संगठित सेटिङ चलाउने थप अध्यागमन कर्मचारी पक्रिन प्रहरीले चलायो अपरेशन
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलाउने गिरोहविरुद्ध अपरेशन सुरु गरेको छ । जिल्ला अदालत काठमाडौंले गिरोहमा संलग्न थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले अपरेशन सुरु गरेको हो ।
थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथि गरिएको अनुसन्धानका क्रममा थप कर्मचारीको संलग्नता पुष्टि भएसँगै प्रहरीले खोजी अपरेशनलाई तीब्रता दिएको छ ।
काठमाडौं जिल्ला अदालतले माघ ९ गते मात्रै अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी लिएर प्रहरी गिरोहमा संलग्न थप कर्मचारीको खोजीमा जुटेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइल सर्चले संगठित गिरोहको संलग्नता पुष्टि भएको हो । अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् ।
उनको मोबाइलमा यस सम्बन्धका प्रमाण फेला परेको प्रहरीले जनाएको छ । प्रमाण कै आधारमा थप कर्मचारीलाई प्रतिवादी बनाउन लागिएको प्रहरीको भनाइ छ ।प्रहरीले आफुहरुमाथि निगरानी बढाएसँगै शुक्रबार मात्रै अध्यागमन अधिकृत छायालाल मोक्तानले प्रहरी जवानलाई झापड हानेका थिए । प्रहरीमाथि हात उठाएपछि अर्का प्रहरीले उनलाई कुटेका थिए ।