बहिनीको विवाहमा दिदीले दिइन् बीमा पोलिसी उपहार
काठमाडौं । विवाहको अवसर पारेर एक दिदीले बहिनीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छिन् ।
चाडपर्व तथा उत्सव भन्ने बित्तिकै अनावश्यक भोजभतेर र क्षणिक रमझममा फजुल खर्च गर्न तम्सिने समाज आजभोलि केही सभ्य र भविष्यप्रति सजग देखिन थालेको छ ।
बद्लिदो परिवेशसँगै चाडपर्व तथा उत्सव आदिमा भविष्यका लागि अपरिहार्य जस्तै भैसकेको बीमा पोलिसी उपहार दिने चलन पनि दिनानुदिन बढ्दै गइरहेको छ ।
यसैको उदाहरणस्वरुप काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ निवासी सुजता अधिकारीको विवाहमा दिदी सरु खतिवडाले प्रभु महालक्ष्मी लाइफसँग समन्वय गरी पाँच लाखको सावधिक जीवन बीमा पोलिसी उपहार दिएकी छिन् ।
यस किसिको उपहार दिनु सकारात्मक कदम भएको र यसले समाजमा बचत गर्ने बानीको विकास गराउनुका साथै आर्थिक समृद्धि हासिल भई समाज विकासमा समेत टेवा पुग्ने कम्पनीका एजेन्सी मेनेजर राम प्रसाद खतिवडाले बताए ।