सल्यानमा एनएलजी इन्स्योरेन्सको अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । कर्णाली प्रदेशको सल्यानमा कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले कृषि पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न गरेको हो ।
माघ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त अभिकर्ता तालिममा ५० जना भन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ । एनएलजी इन्स्योरेन्सका विजनेश कोअर्डिनेटरले उक्त अभिकर्ता तालिमको मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
त्यस्तै, अभिकर्ता तालिममा सहजकर्ताको रुपमा कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख हरिहर अर्याल तथा विभिन्न शाखाका कर्मचारीहरु लेख बहादुर खत्री, अनु हमाल, कल्पना थापा र अनुराग बोहरा रहेका थिए ।
तालिममा सहभागीले अभिकर्ता तालिम निकै फलदायी भएको र तालिम बाट सिकेको ज्ञान तथा सिपबाट कृषकहरुलाई बीमा बारे जानकारी गराउन सहज हुने र स्वरोजगारमा समेत टेवा पुग्ने बताएका थिए ।
उक्त तालिममा कृषि बीमाका सैधान्तिक पक्ष लगायत कृषि बीमाका विभिन्न बीमालेखको बारेमा जानकारी गराइएको थियो । यस कम्पनीले हालै मात्र विराटनगर, रामेछापको मन्थलीमा समेत अभिकर्ताृ तालिम कार्यकम सम्पन्न गरेको जनाएको छ ।
साथै, यही चालु आर्थिक वर्ष भित्र डोल्पा र पश्चिम रुकुममा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।