सेयर बजारबाट ६ महिनामा उठ्यो १ अर्ब ८९ करोड पुँजीगत लाभकर, लगानीकर्ताले २ करोड ७३ लाख तिरे जरिवाना

दिपक विष्ट
१२ माघ २०८०, शुक्रबार १७:०९

काठमाडौँ । सेयर बजारबाट चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा महिनामा १ अर्ब ८९ करोड ३९ लाख ३३ हजार ३५ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएससीका अनुसार पुस मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

सरकारलाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्पोरेट लगानीकर्ता र स्टक डिलरले २२ करोड ५० लाख ४४ हजार ८२१ रुपैयाँ लाभकर तिरेका छन् । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले सेयर कारोबार गरेर राज्यलाई १ अर्ब ६६ करोड ८८ लाख ८८ हजार २१२ रुपैयाँ लाभकर तिरेका छन् ।

सीडीएससीका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी पुँजीगत लाभकर व्यक्तिगत अल्पकालीन कारोबारीले १ अर्ब १६ करोड ३१ लाख २९ हजार ८०० रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यस्तै व्यक्तिगत दीर्घकालीन कारोबारीले ५० करोड ५७ लाख ५८ हजार ४१२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

हाल दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

कुन महिनामा कति भयो पुँजीगत लाभकर सङ्कलन ?

सेयर बजारबाट पुस महिनामा सबै भन्दा बढी पुँजीगत लाभकर सङ्कलन भएको छ । यस महिनामा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ ।

सबै भन्दा थोरै पुँजीगत लाभकर सङ्कलन कात्तिक महिनामा भएको देखिन्छ । सो बेला बजार निरन्तर ओरालो लागेको थियो । साथै, दसैँ र तिहार लामो बिदा भएका कारणले लाभकरमा समेत प्रभाव परेको हो । कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको हो ।

त्यस्तै, साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ, मङ्सिरमा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ र भदौमा १४ करोड ६९ हजार रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको सिडिएसको तथ्याङ्कले देखाएको छ ।

लगानीकर्ताले २ करोड ७३ लाख रुपैयाँभन्दा बढी क्लोजआउट बापत जरिवाना तिरे

चालु आर्थिक वर्षको ६ महिनासम्म लगानीकर्ताले २ करोड ७३ लाख रुपैयाँभन्दा बढी क्लोजआउट बापत जरिवाना तिरेका छन् ।  बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा  क्लोजआउटमा पर्ने गरेका छन् ।  कति लगानीकर्ताको यस सम्बन्धी ज्ञानको अभाव हुनु र कहिले सिडिएसको समस्याका कारण समेत यस्तो जरिवाना तिर्नु परेको लगानीकर्ता बताउँछन् ।

लगानीकर्ता सेयर बेचेको २४ घण्टा भित्र ईडीआईएस नगर्दा उक्त जरिवाना तिर्नु परेको हो । लगानीकर्ताले सेयर बेचेको २४ भित्र ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना तिर्नुपर्ने ब्यवस्था रहको छ ।

के भन्छन् लगानीकर्ता ? 

सेयर बजारबाट राज्यलाई ठुलो कर सङ्कलन हुन्छ । चालु आर्थिक वर्षको ५ महिना राताम्य भएको बजार अन्तिम महिना अर्थात् पुसमा भने उछाल आएको थियो । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको प्रथम समीक्षा माथि सेयर बजारमा बाधा गर्ने केही सीमा परिवर्तन गरेपछि लगानीकर्तामा उत्साहको महोल बनेको हो ।

अहिले सेयर बजार प्रविधिमैत्री बनेको छ । अधिकांश कारोबार पछिल्लो समय अनलाइन मार्फत भइरहेको हो । सोही कारण पनि पछिल्लो समय सेयर बजार प्रवेश गर्नेहरू दिनप्रति दिन बढ्दै गइरहेको अवस्था छ । बजारमा उत्साहको माहोल हुँदा समेत क्लोजआउटको समस्या भने अझै कम हुन् सकेको छैन ।

क्लोजआउट सबै भन्दा बढी मारमा लगानीकर्ता परेको इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने,- ‘क्लोजआउट सबैभन्दा मारमा पर्ने लगानीकर्ता नै हुन् । कहिले काही सिडिएसको पनि गल्ती हुन्छ । कहिले काँही मेरो सेयर समेत चलेको हुँदैन ‘

लगानीकर्तामा सेयर बजार सम्बन्धी कमी कमजोरी रहेको रौनियारको तर्क छ । ‘लगानीकर्तामा समेत कमजोरी छ । ६१।६२ लाखको डिम्याट छ । सबै शिक्षित छन् भन्ने छैन । कतिले इडिआईएस गर्ने समेत जान्दैनन्’ रौनियारले भने, – ‘क्लोजआउटका लागि कुनै फन्ड बनाउने बारे हामीले सेबोनमा माग राखेका थियौ । क्लोजआउटलाई निकास दिनु नै पर्छ । लगानीकर्तालाई मात्र मार पर्दा राम्रो कुरा होइन । सेबोन, लगानीकर्ता, सिडिएस र ब्रोकरहरू बसेर यसको निकास निकाल्नु पर्छ । ‘

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*