सरकारले गठन गर्यो नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे सरकारले अध्ययन गर्न समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।
समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेको स्रोतले जानकारी दियो । नेपालको पुँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी एकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।
समितिलाई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।नेपाल धितोपत्र बोर्डले गत वर्ष २ असोज २०७९ मा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएपछि विवाद भएको थियो ।
यसअघि मन्त्रिपरिषद्ले नै प्रक्रिया स्थगित गर्न निर्देशन दिएकाले त्यसलाई पुनः सुरु गर्न अध्ययन गराउनुपर्ने निष्कर्षसाथ अध्ययन समिति गठन गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।