बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद रिर्पोटिङ न्यून, शंकास्पद कारोबारको रिपोर्टिङ दोब्बर

९ माघ २०८०, मंगलवार २१:५३

काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ । सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्युन मात्रै देखिएको छ ।

नेपाल राष्ट्र बैंकमातहत रहेको वित्तीय अनुसन्धान ईकाईले आफ्नो प्रतिवेदनमा उल्लेख गरे अनुसार नेपाली बीमा क्षेत्रमा वर्षदिनमा जम्मा १९ वटा कारोबार मात्रै शंकास्पद देखिएकोछ । बैंक, विकास बैंक, लघुवित्त, फाइनान्स कम्पनी, बीमा र शेयर बजारको सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधिको तथ्याङ्कमा बीमा क्षेत्रमा सबैभन्दा न्यून देखिएको छ ।

प्रतिवेदनका अनुसार आव २०७९।८० मा बैंकिङ क्षेत्रमा कूल पाँच हजार एक सय ८७ वटा शंकास्पद कारोबारको रुपमा रिपोर्टिङ हुँदा विकास बैंकमा २५७ वटा शंकास्पद कोरोबार भेटिएका छन् । आव २०७९।८० मा फाइनान्स कम्पनीमा ४४ वटा शंकास्पद कारोबार देखियो भने रेमिट्यान्स कम्पनीमा १४६ वटा भेटिएका थिए । त्यस्तै, स्टक मार्केटमा ४६ वटा शंकास्पद कारोबार भेटिँदा बीमा क्षेत्रमा जम्मा १९ वटा मात्रै शंकास्पद कारोबार भेटिएको हो । बीमा क्षेत्रमा दीर्घकालिन रुपमा लगानी गर्नुपर्ने भएकोले सम्पत्ति शुद्धिकरणको आकर्षणको क्षेत्रको रुपमा बीमा क्षेत्र हुन नसकेको विश्वास गरिएको छ ।

गत आवमा नेपालका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य सरकारी एजेन्सी समेत गरी कूल पाँच हजार आठ सय ३७ वटा शंकास्पद कारोबार रिपोर्ट वित्तीय अनुसन्धान ईकाईमा पुगेको थियो । त्यस्तै, अघिल्लो वर्षमा जम्मा दुई हजार आठ सय ८० वटा मात्रै रिपोर्ट केन्द्रीय बैंकमा पुगेको थियो ।

बीमा क्षेत्रमा पछिल्ला वर्षहरुमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि भने दोब्बर बृद्धि भएको तथ्याङ्कले देखाएको छ । आव २०७८।०७९ मा जम्मा नौ वटा शंकास्पद कारोबार देखिएको बीमा क्षेत्रमा आव २०७७।०७८ मा जज्म्मा ३ वटा मात्रै त्यस्तो कारोबार देखिएको थियो । त्यस्तै, आव २०७६।०७७ मा जम्मा चार वटा शंकास्पद कारोबार देखिएकोमा सबैभन्दा धेरै २०७५।०७६ मा ३१ वटा बीमा शंकास्पद रुपमा भएको कम्पनीले गोएएमएल सफ्टवयरमा रिपोर्ट गरेको थियो ।

गत आवमा शंकास्पद देखिएका कारोबार मध्ये १७ वटा जीवन बीमा सम्बन्धी कारोबार देखिएको छ भने एक वटा निर्जीवन बीमा सम्बन्धी कारोबार देखिएको छ ।

 

के हो सम्पत्ति शुद्धिकरण सम्बन्धी रिर्पोटिङ ?
नेपालमा सञ्चालित हरेक बीमा कम्पनीहरुले जीवन बीमाको हकमा एक लाख रुपयाँसम्मको बीमा बीमा शुल्क र १० लाख रुपैयाँसम्मको बीमा रकम भुक्तानीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान सम्बन्धी गोएएमएल सफ्टवयरमा इन्ट्री गर्नुपर्दछ । त्यस्तै, निर्जिवन बीमाको हकमा तीन लाख रुपैयाँसम्मको बीमा शुल्क वा दावी भुक्तानीलाई यसैगरी गोएएमएल सफ्टवयरमा इन्ट्री गर्नुपर्दछ । बीमितको विवरण इन्ट्र गर्ने यही विधिलाई थ्रेसहोल्ड रिर्पोटिङ टिटिआर भनिन्छ । थ्रेस होल्ड रिपोर्टिङ नियमित प्रक्रिया हो । जुन सधैं भइरहेको हुन्छ ।

थ्रेसहोल्ड विधिमा रिर्पोटिङको क्रममा रकमधनीले सही जवाफ दिएन, चित्त बुझ्ने जवाफ दिएन वा खाता खोल्दा सामान्य पेशा तोकिएको र तर, व्यवहारमा लाखौं रुपैयाँ वित्तीय संस्थामा कारोबार गरिरहेको अवस्थामा बैंकका कर्मचारीले नै शंकास्पद कारोबार भनेर रिपोर्टिङ गर्ने गर्दछन् । बीमा क्षेत्रमा पनि हैसियत भन्दा बढि रकमको बीमा गरेमा वा आम्दानी खुल्ने कागजात बिना नै बीमा गराइएको अवस्थामा बीमा कम्पनीका कर्मचारीहरुले गोएएमएल सफ्टवयरमा त्यस्ता शंकास्पद बीमाको रिर्पोटिङ गरिएको हुन्छ । त्यसलाई सस्पेसियस ट्रान्जेक्सन रिपोर्ट (एसटिआर) भनिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*