के तपाई भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? यी कागजात नर्बिसिनु होला
काठमाडौँ । के अब तपाई भिजिट तथा पर्यटन भिसामा विदेश जाने तयारीमा हुनुहुन्छ ? यदि यस्तो तयारीमा हुनुहुन्छ भने तपाईले अध्यागमन विभागको बेवसाइट बेला–बेला हेरी राख्नु पर्ने हुन्छ ।
नेपाल सरकारले आज मात्रै भिजिट तथा पर्यटन भिसामा विदेश जानेहरुका लागि नयाँ निर्णय गरेको छ । सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटन भिसामा भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । यदि तपाईहरुले यो जानकारी थाहा पाउनु भएको छैन भने विमानस्थलबाट फिर्ता हुनु पर्ने छ ।
भिजिट भिसामा विदेश गई यतै अवैध रुपमा काम गर्नेहरुको संख्या वृद्धि हुन थाले पछि सरकारले थप नयाँ कदम चालेको हो । अब सरकारले भनेका काजगात नदेखाए विदेश जाने यात्रामा केहि अप्पठारा अवस्थाहरु आउन सक्छन् ।
के छ त नयाँ नियममा ?
भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो । अब माघ १० गतेदेखि लागू हुने नयाँ नियममा अब कुनै पनि ब्यक्तिले भिजिट भिसामा यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने ब्यवस्था भएको छ ।
साथै, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने ब्यवस्था गरेको हो ।
यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिटरक्रेडिट कार्ड) पनि हुनुपर्नेछ ।
अध्यागमन विभागले घुम्न र परिवार भेट्न विदेश जानेहरूले सेटिङको नाममा बिचौलियालाई पैसा नबुझाउन, भ्रमण र पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित काम नगर्न आग्रह गरेको छ । भिजिट र पर्यटक भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने कार्यविधिमा उल्लेख छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राख्न विभागको आग्रह छ ।
यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ । विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो ।