मिटरब्याजीबाट घर खोसेर पीडितलाई हस्तान्तरण

९ माघ २०८०, मंगलवार १७:५७

काठमाडौं । मिटरब्याजीले हडपेको घर पीडितहरुको एक समूहले खाली गराएर सम्बन्धित पीडितलाई हस्तान्तरण गरेको छ ।

सिरहाको लहान नगरपालिका ७ मा साहु रामबाबु महतोले हडपेको घर पीडितहरुको समूहले खाली गराएर पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा भतिजीसहित घर प्रवेश गरेका हुन्।

वि.स. २०७१ मा महतोसँग श्यामका दाइ हिरालालले १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए ।ब्याजसहित ऋण‌ चुक्ता गरेपछि घरजग्गा फिर्ता गर्ने सहमति भएको थियो । तर यसैबीचमा ऋणी हिरालालको निधन भयो ।

त्यसपछि हिरालालका भाइ श्यामले पटक पटक गरी २१ लाख रुपैयाँ महतोलाई बुझाए । २०७७ मा महतोले श्यामलाई ५७ लाखको हिसाब सुनाए र तिर्न नसके घर खाली गर्न श्यामलाई चेतावनी दिए ।

घर खाली गर्न लाग्दा साहु रामबाबुले प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि जबर्जस्ती घरमा पस्न नदिने प्रयास गर्दा पनि प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरे । श्यामलाई सहयोग गर्न सयौँ मिटर ब्याज पीडितहरू सँगै पुगेका थिए ।

सिरहामा मिटरब्याज पीडितहरूले साहुले हडपेको सम्पत्ति फिर्ता लिने अभियान नै चलाएका छन् । यसअघि सन्हैठामा साहुले जग्गा कब्जा गरी लगाएको धान पीडितहरू आफूले भित्र्याएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*