पार्किङ् निषेधको निर्णयले न्युरोडका व्यवसायी मारमा, भन्छन्, ‘हामीलाई विदेशिन बाध्य पारिँदैछ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् निषेध गरेपछि व्यवसायीहरु तनावमा परेका छन् ।सवारी आवागमनलाई सहज बनाउन भन्दै काठमाडौं महानरले सडकको पार्किङ् हटाएको हो ।
पार्किङ् निषेध गरिएका स्थानमा ‘नो पार्किङ्’लेखिएका संकेत बोर्डहरु छन् । सडक पार्किङको विकल्पमा सवारी महानगरले साविक पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरमा निःशुल्क पार्किङ् तोकेको छ ।
पार्किङ् निषेध गरिएका ठाउँमा महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले सरसफाइ गरेको छ । ‘नो पार्किङ्’ निर्णय कार्यान्वयन गर्न महानगरले ठाउँ–ठाउँमा नगर प्रहरी खटाएर सम्झाई बुझाई गरिरहेको छ । विहान वीर अस्पताल अगाडिको सडकमा पार्किङ् गरिएका मोटरसाइकल नगर प्रहरीले उठाएको थियो । यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो ।
व्यवसायी भन्छन्–महानगरले हाम्रो भोको पेटमा लात हान्यो
महानगरको नो पार्किङ् निर्णयप्रति व्यवसायीले आपत्ति जनाएका छन् । पार्किङ् गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरुले सटर बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आर्थिक मन्दीका बेला महानगरले चालेको कदम व्यवसायीको पेटमा लात भएको टिप्पणी समेत उनीहरुले गरेका छन् ।
एक व्यवसायीले भने, ‘यसै पनि व्यवसाय ठप्प छ । घरबेटीलाई भाडा बुझाउन नसक्ने अवस्थामा पुगेका छौं । त्यसमाथि नो पार्किङको निर्णयले सरासर व्यवसायीको भोको भेटमा लात हानेको छ ।’
महानगर निर्णय कार्यन्यवनमा शशक्त ढंगले अगाडि बढेको छ । महानगरले यो निर्णयमाथि पुनःविचार नगरे व्यवसायी सटर बन्द गरेर विदेशिन बाध्य हुने व्यवसायी सुरज श्रेष्ठले बताए । आधा व्यवसाय आर्थिक मन्दीले खुम्चिएको बताउदै व्यवसायीले आफुहरुलाई नेपालमा बस्नै नदिने नियतप्रेरित निर्णय गरेर महानगरले मुर्खता गरेको बताएका छन् ।
ब्यवसायी सुधिर केसीले महानगरको निर्णय स्वागतयोग्य भएपनि उपयुक्त विकल्प दिइनुपर्ने बताए । काठमाडौं टावर निकै टाढा छ, पार्किङको उपयुक्त विकल्प दिइनुपर्छ, केसीले भने, सडक अव्यवस्थित थियो । महागरले चालेको यो कदम एकदम स्वागतयोग्य हो । तर व्यवसायीलाई समेत व्यवसाय हुने वातावरण महानगरले तय गर्नु पर्छ पर्दैन ? हिजो मात्र महानगरको यो निर्णयको थाहा भयो । आजैबाट लागु नै भइसक्यो, खै त हामीलाई समय दिएको ? त्यसैले महानगरले व्यवसायीसँग समेत आवश्यक छलफल गरेर सही ठाउँ तय गरिदिनुपर्छ ।’
बटुवा भन्छन्–‘जय बालेन’
पार्किङ् निषेधको यो निर्णयले अधिकांश बटुवा भने खुसी छन् । हिडडुल गर्नै असहज हुने न्युरोडको सडक पार्किङ् हटेसँगै बाटो खुल्ला भएको छ । भिडभाड कम भएको छ ।
व्यवसायीलाई मार परे पनि सडक खुल्ला भएको सन्देश दिने महानगरपालिको निर्णय स्यावासीपूर्ण रहेको सुवास सुनारले बताए । सडक गाडी गुड्नलाई हो, उनले भने, ‘अव्यवस्थित पार्किङले शहरको सुन्दरता समेत हराएको थियो । यो निर्णय उपयुक्त छ । सबै घरहरुमा पार्किङस्थल अनिवार्य गरिनु आवश्यक छ ।’
सामान किन्न गाडी लिएर आएको २० मिनेटदेखि पार्किङस्थल नपाएर न्युरोड परिपरी घुमिरहेको गुनासो व्यवसायीले गरेका छन् । न्युरोडमा सामान लिन आएकी एक व्यवसायीले भनिन्, ‘म व्यवसायी हुँ । होलसेलमा समान किन्नका लागि न्युरोडमा आएको । तर, २० मिनेटदेखि गाडीको गाडी मै घुमिरहेको छुँ । पार्किङस्थल नै पाइएन ।’
साविक पुरानो बसपार्कस्थित काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने काठमाडौं महानगरले जनाएको छ ।