कमिसनका लागि त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री किरातीको गिद्देदृष्टी

९ माघ २०८०, मंगलवार १६:५६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने  बहाना गर्दै ठूला विमानस्थल व्यवस्थापनको जिम्मा निजी वा विदेशी कम्पनीलाई दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अबको ७ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताउदै विमानस्थल व्यवस्थापनको जिम्मा दिनु अत्यावश्यक भएको बताएका हुन् ।

उनले भने, ‘पोखरा र भैरहवा विमानस्थल विकल्प हैन । एउटा अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक छ ।’ घुमाउरो ढंगले निजगढ विमानस्थल बनाइनुपर्नेतर्फ संकेत गर्दै मन्त्री किरातीले राजनीतिक दबाबमा विमानस्थल बनाउन हुँदैन समेत भने ।

उनले देशभरका ठूला विमानस्थल भाडामा दिएर व्यवस्थापन गरिनुपर्ने बताए । माफियाको सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई भाडामा दिने प्रस्ताव गरेकै कारण पहिल्यै विवादमा फसेका मन्त्री किरातीले भारतीय एयर मार्शलको चलखेल बढाएको आरोप समेत खेपिरहेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धी हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देश दिइएको समिति सभापति राजकिशोर यादवले बताएका छन् ।

समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उड्ड्यनसम्बन्धी विधेयकमाथि गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*