सुन तस्करसँग साँठगाँठ रहेका रुपेशको घरमा सीआईबीको छापा, २ अर्ब हुण्डी कारोबारको ढड्डा भेटियो

९ माघ २०८०, मंगलवार १६:३३

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा फेला पारेको छ ।

सीआईबीको टोलीले ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।
‘जोन रोबर्ट’ नाम गरेको ढड्डामा मात्रै १ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ कारोबार भएको देखिएको बज्राचार्यले जानकारी दिइन् । ढड्डामा ९८९ वटा हुण्डी कारोबारको विवरण भेटिएको सीआईबीले जनाएको छ ।

‘रेन बेकर’को नाममा भएको ढड्डामा २७ करोड ५५ लाख ६० हजार रुपैयाँ कारोबारको विवरण भेटिएको छ । रुपेश श्रेष्ठले कम्तीमा दुई अर्ब २६ करोड रुपैयाँ बढीको अवैध हुण्डी कारोबार गरेको देखिएको सीआईबीको जिकिर छ ।

उनको कोठाबाट बरामद भएको मोबाइल, ल्यापटप, कम्प्युटरको सीपीयू लगायतको प्राविधिक जाँच गर्दा उनले क्रिप्टो करेन्सीको कारोबार गरेको समेत देखिएको एआईजी बज्राचार्यले बताइन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुईवटा खातामा १ नोभेम्बर २०२२ देखि १७ नोभेम्बर २०२३ सम्मको विवरण भेटिएको छ । सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

रुपेशले अमेरिकामा व्यवसाय गर्ने आफ्ना भाइ दिपेश श्रेष्ठ र भाञ्जा आयुष श्रेष्ठसँगै ग्यास स्टेशनमा काम गर्ने नेपालीहरुको तलब वापतको रकम आफूले नेपालमा रहेका आफन्तलाई भुक्तानी गरिदिएको प्रहरीसँगको बयानमा जिकिर गरेका छन् ।

आफूहरुले पहिले बागबजारमा अपविट कन्सल्टेन्सी प्रालि सञ्चालन गरेको भन्दै श्रेष्ठले त्यतिबेला विद्यार्थी ल्याउन सहयोग गर्नेहरुको विवरण टिप्न जोन र रेन नामको डायरी राखेको बताएका छन् ।

विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई सल्लाह, सुझाव दिन कन्सल्टेन्सी स्थापना गरिएपनि शिक्षा मन्त्रालयले स्वीकृति नदिँदै साझेदारबीच विवाद भएर बन्द गर्नुपरेको उनले बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा दायर मुद्दामा दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो कायम गरिएको छ ।

व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सारले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका थिए ।

यस प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा संलग्न रहेको भन्दै प्रतिवादी बनाइएको छ । रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, विगल सिंह शर्मा, सरद भट्टराई, वीरेन्द्र मगर, दिपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुद्रे तामाङ र अंशुल श्रेष्ठलाई फरार प्रतिवादी बनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*