न्युरोडमा नो पार्किङ् ‘आतंक’, व्यवसायी सटर बन्द गरेर आन्दोलनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप संकट उत्पन्न हुने व्यवसायीहरुको चिन्ता छ । पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरुले सटर बन्द गर्ने घोषणा गरेका छन् । कतिपय व्यवयासी मंगलबार सटर-पसल बन्द गरेर सडकमा उत्रिएका छन् ।
यसअघि दरबारमार्ग क्षेत्रमा पनि व्यवसायीले यसैगरी महानगरविरुद्ध प्रदर्शन गरेपनि महानगरले निर्णय भने सच्याएन । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले मंगलबार बिहानैदेखि कडाइ गर्न सुरु गरेको छ । जसअनुसार मंगलबार बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकल नगर प्रहरीले उठाएको थियो ।
महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।
सोमबारसम्म धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो । बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायतका ठाउँमा पनि महानगरले पार्किङ निषेध गरिसकेको छ ।