मुलुकको ऋण ६ महिनामै झण्डै २४ खर्ब

८ माघ २०८०, सोमबार १४:१६

काठमाडौं । मुलुकको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो ६ महिनामा मात्रै ८५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म देशको कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ थियो ।

साउनदेखि पुस मसान्तसम्म ८५ अर्ब २३ करोड ३५ लाख रुपैयाँ थपिँदा देशको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो । जसमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ बाह्य ऋण छ ।

गत असार मसान्तसम्म ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको थियो भने ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बाह्य ऋण थियो । यो आर्थिक वर्षको ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ छ ।

यसअवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवा बापत ७७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सोही आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ८५ अर्ब १३ करोड रहेको देखिन्छ ।

६ महिनामा सरकारले ऋणको सावाँ–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब खर्चिएको छ । यो अवधिमा आन्तरिक ऋणको सावाँ भुक्तानीमा ५९ अर्ब ३७ करोड खर्च भएको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड लागेको छ ।

बाह्य ऋणको सावाँ भुक्तानीमा १८ अर्ब ७ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ । यसरी सरकारले ६ महिनामा ऋणको साँवा–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब ५७ करोड खर्च गर्नु परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*