सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै वित्तीय अपराध, राष्ट्र बैंकका गभर्नरसहित प्रतिष्ठित व्यक्तिका नाममा फेक वाट्सएप आतंक
काठमाडौँ । नेपाल प्रहरीको साइबर व्युरोमा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी उजुरीको चाङ लागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम तथा तस्वीर समेतको दुरुपयो गरी वाट्सएप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग सम्वाद गरेको घटनादेखि प्रष्ठित अन्य व्यक्तिहरुलाई निसाना बनाएको घटनाले साइबर अपराधको ज्वरो बढेको रुपमा लिइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक नोटिश नै जारी गरेर यस्तो गतिविधिप्रति सजग रहन आग्रह गरेको छ । उता, एनआइसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपाने, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल समेतको फेक वाट्सएप एकाउण्ट बनाई दुरुपयोग गरिएको पाइएको छ । यस्तै, काठमाडौंमा रहेर विभिन्न तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु समेत साइबर अपराधको सिकार भइरहेका छन् ।
घटनाक्रम
काठमाडौंमा स्नातक पढिरहेकी प्रतिष्ठालाई एका विहान् साथीको फोन आयो । साथीले फेसबुकमा के भएको किन यस्ता तस्विर पोष्ट गरेको ? भन्दै प्रश्न गरिन् । प्रतिष्ठा आत्तिईन्, फेसबुक खोल्ने प्रयास गरिन् । तर, आइडी लगइन नै भएन । उनले साथ मै रहेका भाइको मोबाइलबाट आफ्नो आइडीको प्रोफाइल खोलिन् । जहाँ अश्लिल तस्बिर देखिन् । त्यसपछि उनलाई परिवार र साथीभाइलगायत दर्जनौंका फोन एसएमएसले हैरानी दियो ।
धनगढीका विकास केसीको समस्या प्रतिष्ठा कै जस्तो छ । काममा रहेको बेला साथीले फोन गर्दै करोडौँको मालिक भइस् भन्दै प्रश्न गरे । पछि कुरा बुझ्दा फेसबुकमा ६५ हजारको लगानी गरी ६ लाख ७० हजार कमाइयो भन्दै पोष्ट गरिएको भेटियो । साथीहरूलाई फेसबुकमार्फत पैसा समेत मागेको पाइयो । उनी तत्काल साइबर व्युरोमा पुगेर रिपोर्ट गरे । रिपोर्ट गरेको २ दिनसम्म उक्त आइडी ब्लक हुन सकेन ।
यी प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता घटना दिनप्रति दिन बढ्दै गइरहेका छन् । यस्ता घटनामा नियामकले समेत सशक्त भूमिका निर्वाह गर्न सकिरहेको देखिन्न । सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले आत्महत्या दुरुत्साहनका घटनाले बढावा पाएको छ । सामाजिक सञ्जालको दुरुपयोगले वित्तीय अपराध झन् झाँगिएको छ ।
के भन्छ, साइबर ब्युरो ?
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार, देशभित्रका साइबर अपराधमध्येका ९५ प्रतिशत घटना सामाजिक सञ्जालसँग सम्बन्धित छन् । फेसबुक, टिकटकलगायत सामाजिक प्लेटफर्ममा ‘भाइरल’ बन्ने प्रवृत्ति झाँगिएसँगै विभिन्न दुर्घटना र मनोसामाजिक समस्या पनि निम्तिएका छन् । इन्टरनेटबाट हुने वित्तीय अपराध झन् बढेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा साइबर ब्युरोमा ९ हजार ९३८ उजुरी सामाजिक सञ्जालमार्फत भएका अपराधलाई लिएर परेका प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी नबिन्द अर्यालले बताए ।
उनका अनुसार विभिन्न व्यक्तिको अनुहार अश्लिल फोटोहरुमा इडिट गरेर राख्ने, अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने, सबै खाले सूचनामा पहुँच स्थापित गरेर रकम माग गर्ने घटना बढ्दै गएका छन् । साथै, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरेर तथा प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा हैरानी दिने गरेका उजुरीको साइबर ब्युरोमा चाङ छ ।
साइबरमा सबै भन्दा बढी फेसबुक र म्यासेन्जर दुरुपयोग भएको उजुरीहरू बढी आउने गरेको अर्यालले बताए । चालु आर्थिक वर्षको ६ महिनामा फेसबुक र म्यासेन्जर दुरुपयोगका ८ हजार ५० उजुरी ब्युरोमा दर्ता भएका छन् ।
सामाजिक सञ्जालमार्फत आफुलाई मन नपरेका मान्छेहरुबारे तथानाम लेख्ने, सार्वजनिक गालीबेइज्जती गर्ने तथा विभिन्न आरोप एवं लाञ्छना लगाउने प्रवृत्ति बढेको छ । कसैसँग व्यक्तिगत रिसइबी साध्न, कुण्ठा पोख्न, बदलाको भावनाले कसैको फोटो विगारेर अश्लिल सामग्री बनाई पोष्ट्याउने गतिविधि बढेको साइबर ब्युरोले गरेको अध्ययनले देखाएको छ ।
चालु आर्थिक वर्षको पुससम्ममा साइबर ब्युरोमा टिकटक दुरुपयोगका ६६७, इमेल ७१, वाट्सएप ४४१, भाइबर १४, युट्युब ३६ र इन्टाग्रामसँग सम्बन्धित ३७९ उजुरी दर्ता भएका छन् ।
सामाजिक सञ्जाल दुरुपयोगका घटना दर्ता गर्नेमा महिलाको भन्दा पुरुषको संख्या बढी छ । चालु आर्थिक वर्षमा यस्ता उजुरी दिनेमा बालक १२० जना, बालिका १८३ जना, महिला ४ हजार ४५८ जना, पुरुष ४ हजार ८०२ जना र अन्य ३७५ जना रहेका छन् ।
आईटीसम्बन्धी वित्तीय अपराध समेत बढ्यो
आईटीका माध्यमबाट हुने वित्तीय अपराध समेत बढ्दै गएको तथ्याङ पनि साइबर ब्युरोले संकलन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा आईटीसम्बन्धी वित्तीय अपराधका १ हजार ६५९ वटा उजुरी साइबर ब्युरोमा परेका छन् । ब्युरोमा बैंक तथा वित्तीय एकाउन्ट सम्बन्धी ६० वटा उजुरी परेको छ । जहाँ गत आर्थिक वर्षको १२ महिनामा ९६ निवेदन दर्ता भएका थिए ।
चालु आर्थिक वर्षको पुस समान्तसम्ममा कनेक्ट आईपीएस सम्बन्धी ९ वटा, इमेल सम्बन्धी १४ वटा, ई–सेवा सम्बन्धी ११६ वटा, फेसबुक सम्बन्धी ७४२ वटा उजुरी साइबर ब्युरोमा परेको छन् ।
नेपालमा सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्न पर्याप्त कानून निर्माण हुनसकेको छैन । समयमा ऐन, कानून नबन्दा समस्या बढ्दै गइरहेको छ । इन्टरनेट र सामाजिक सञ्जाललाई नियमन गर्न सरकारले हालै निर्देशिका जारी गरे पनि त्यो पर्याप्त नभएको र ऐन कानून नै जरुरी भएको जानकारहरुले बताएका छन् ।
कतिपयले सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र यसबाट हुन सक्ने अकल्पनीय दुर्घटना रोक्न नागरिक शिक्षालाई पहिलो प्राथमिकता दिइनुपर्ने धारणा राखेका छन् । नागरिक शिक्षाले सेन्सरविनाको इन्टरनेट प्रयोगलाई लगाम लगाउन सहज हुने उनीहरुको तर्क छ ।