टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही गर्न सांसदहरुको माग
काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न रहेका मन्त्री तथा कर्मचारीहरुमाथि सांसदहरुले कारबाहीको माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका सदस्यहरुले टेरामक्स खरिद प्रकियामा संलग्न रहेका जिम्मेवार व्यक्तिहरुमाथि कारवाही गरिनुपर्ने बताएका हुन् ।
सांसदहरुले समितिबाट टेरामक्स खरिद प्रकियामा संलग्न व्यक्तिहरुको सूची बनाएर सरकारलाई कारवाहीका लागि सिफारिस गरिनुपर्ने माग राखेका छन् । एमालेका सांसद कालुराम राईले नेपालका अधिकारीहरुलाई पश्चिमा मुलुकले प्रभावमा पारेर आफ्नो पुरानो हुँदै गरेको थोत्रो प्रविधि नेपाललाई बेचेको आशंका गरे ।
२०७० को दशकमा नेपालमा कल बाइपास गरेर राजस्व छल्ने प्रवृत्ति बढ्दै गएको भन्दै तत्कालीन सरकारले टेरामक्सको सम्बन्धमा अध्ययन अघि बढाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीले बताए । २०७२ सालमै खरिद प्रकिया अघि बढाइएको भएतापनि हालसम्म यो प्रविधि प्रयोगमा आउन नसकेको उनले बताए ।
सहसचिव गिरीले टेरामक्स अहिले आवश्यक नरहेको भाव प्रकट गरेपछि सांसदहरुले विना अध्ययन र विना कानुन प्रविधि खरिद प्रकिया अगाडि बढाइनु भ्रष्टाचार भएको आशंका गरेका हुन् ।
यता एमालेकै सांसद प्रभु हजाराले टेरामक्स खरिद प्रक्रियामा संलग्न भन्दै विभिन्न व्यक्तिहरुको नामै लिएर कारबाहीको सिफारिसका लागि समिति तयार हुनुपर्ने माग राखे।
यसका साथै उनले लेवनानको कम्पनीसँग टेरामक्स प्रविधि खरिद गरिनु अर्काे शंकाको पाटो भएको बताए । संयुक्त राष्ट्रसंघले आर्थिक प्रतिवन्ध लगाएको देशसँग सम्झौता गरिनु नियतमै खोट भएको बताउदै मेसिन किन्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखे ।
एमालेकै अर्की सांसद विद्या भट्टराइले पनि नीति निर्माण हुनुभन्दा अगावै टेरामक्स प्रविधि ल्याउन खोज्नुले अनियमितताको शंका गर्न सकिने अवस्था सिर्जना भएको बताइन् । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नीतिगत तहबाटै अनियमितता भएको हुनसक्ने आशंका गरिन् ।
यतिमात्र नभएर सांसदहरुले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालको राजीनामामाथि समेत प्रश्न उठाएका छन् । उनले पुस २४ गते सञ्चारमन्त्री रेखा शर्मा मार्फत प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
एमाले सांसद ईश्वरी घर्तीले अनियमितता ढाकछोप गर्न अध्यक्षलाई राजिनामा दिन लगाइएको आशंका गरिन् । उनले राजीनामा सबै कुराको हल भएको र राजीनामा दिएपछि मुक्ति पाइन्छ भन्ने सोच राखिएको भाव प्रकट गरिन् ।