कृषि बीमाको अनुदान बापत नौ करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा, कम्पनीहरुलाई वितरण गरिने
काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको नौ करोड ७० लाख रुपैयाँ आज निकासा गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल आजै कृषि मन्त्रालयमा पुगेका थिए ।
मन्त्रालयले आजै कृषि बीमा शुल्क बापतको रकम निकासा गरेको हो । बीमा कम्पनीहरुलाई सरकारले तिर्नुपर्ने दुई अर्बभन्दा बढि रकम मध्ये कृषि बीमा शुल्क अनुदानको मात्रै नौ करोड ७० लाख रुपैयाँ निकासा गरेको हो ।
कृषि बीमा शुल्कको अनुदान रकम निकासा गरेको भए पनि पशुपंक्षी बीमा शुल्क अनुदानको रकम निकासा गरिएको छैन । सरकारले बजेट बक्तव्यमै उल्लेख गरेर कृषि तथा पशुपंक्षी बीमा शुल्कमा ८० प्रतिशत राज्यले अनुदान दिने व्यवस्था गरेको थियो । तर, सो व्यवस्था कृषि तथा पशुपंक्षी मन्त्रालयले कार्यान्वयन गर्न आनाकानी गर्दै आएको छ । जसका कारण बीमा कम्पनीहरुले समयमा बीमा शुल्क पाउन सकेका छैनन् । बीमा कम्पनीहरुले बीमा शुल्क नपाउँदा कृषि बीमा गर्न आनाकानी गर्न बाध्य हुँदै आएका छन् ।