नेप्सेको ओटीसी मार्केटमा साढे ६३ करोड रुपैयाँ बढीको शेयर कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेको ओटीसी मार्केटमा रू। ६३ करोड ६५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
नेप्सेले बिहीवार जारी गरेको सूचनाअनुसार दोस्रो त्रैमासमा ओटीसी बजारमा विभिन्न २२ कम्पनीका कुल ६३ करोड ६५ लाख ७ हजार ३२८ दशमलव ८ रुपैयाँबराबरको शेयर कारोबार भएको छ । ती कम्पनीको कुल ५९ लाख ६७ हजार २२० कित्ता शेयर किनबेच भएका हुन ।
दोस्रो त्रैमासमा सबैभन्दा बढी नेपाल हस्पिट्यालिटी एन्ड होटेलको २५ लाख ४४ हजार ५२० कित्ता शेयरको रू। २५ करोड ४४ लाख ५२ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै काठमाडौं फरेस्टी कलेजको शेयर मूल्य सबैभन्दा महङ्गो प्रतिकित्ता रू। १ हजार ८५ दशमलव ५ मा कारोबार भएको छ ।
नेप्सेमा २०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार तथा नामसारी ओटीसी बजारमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ । हालसम्म ओटी बजारमा २२६ कम्पनी दर्ता भई कारोबारमा रहेको नेप्सेले जनाएको छ ।