जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्सको सहयोग
काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले माघ ३ गते बुधबार चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको हो ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो ।
उक्त क्षतिपश्चात विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले भूकम्प प्रभावितहरुका लागि राहत सामग्रीका साथसाथै सक्दो आर्थिक सहयोग पनि गरिरहेका छन् ।
यसैबीच सानिमा रिलायन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षेत्रीय प्रबन्धक तथा कर्णाली प्रदेश प्रमुख दिपक कुमार वलीको उपस्थितिमा ३०० थान फाइबर सिरक राहत स्वरूप जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।
भूकम्प जस्तो दैबिक प्रकोपबाट प्रताडित नागरिकको लागि मलम लगाउने कार्य कम्पनीले गरेको छ । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा सानिमा रिलायन्स प्रस्तुत भएको छ ।