एनसेल शेयर किनबेचबारे छानविन गर्न गठित समितिले माघ १५ मा प्रतिवेदन बुझाउने
काठमाडौं । पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर किनबेच सम्बन्धको छानविन प्रतिवेदन माघ १५ गते बुझाउने बताइएको छ ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने बताएकी हुन् ।
गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर किनबेचबारे छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।
समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले छन् । समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएकोमा १५ दिनको समय थप गरिएको थियो ।
मलेसियन आजियटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपाली मूलका लगानीकर्ता रहेको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको थियो ।
शेयर बेच्दा कम मूल्यमा राखेर विक्री गरेको र कुनै पनि नियामक निकायलाई जानकारी नै नदिएको भन्दै यसबारे विवाद भएको थियो ।