एशियन लाइफले बीमा दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी गंगाको डायलासिस रोकिने अवस्थामा

४ माघ २०८०, बिहीबार १५:०६

काठमाडौं । काठमाडौंको मैतिदेवीमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विगत नौ महिनादेखि दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी एक दलित महिलाको नियमित गर्नुपर्ने डायलासिस रोकिने अवस्थामा पुगेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा क्रिटिकल केयर सुविधासहित जीवन बीमा गरिएकी गंगा विकको २०७९ चैत्र २५ देखि मृगौला फेल भई नियमित डायलासिस गराउँदै आएकी छिन् । उनले बीमा गरेको कम्पनीमा लगत्तै क्रिटिकल केयर बापतको बीमा रकम पाँच लाख रुपैयाँ माग गरेर निवेदन दिएको नौ महिना भइसकेको छ । तर, कम्पनीले विभिन्न बाहाना पारेर बीमितलाई रकम दिन आनकानी गर्दै आइरहेको छ ।

बीमापोष्टलाई प्राप्त कागजातमा कम्पनीले पटक पटक बीमितसँग कागजात मागेको देखिएको छ । जसमा पछिल्लो पटक चिकित्सकको अक्षर नबुझिएको भन्दै रकम रोकेर राखेको छ । गरिब परिवारकी गंगा विक दलित समेत हुन् । ‘आमाको दैनिकी अहिले निकै कष्टकर तरिकाले चलिरहेको छ, पैसा नहुँदा उपचार गर्न पाएका छैनौं, अब डायलासिस नै रोकिने अवस्था छ ।’ दुधे बालक च्यापेर आमाको बीमा रकम दिलाउन हिडिरहेकी उनकी छोरी सुमन सुनारले बीमापोष्टसँग आफनो गुनासो पोखिन् । डायलासिस नै रोकिने अवस्था आएपछि उनले बीमा प्राधिकरणमा उजुरी समेत दर्ता गराएकी छिन् । उजुरीपछि बीमा प्राधिकरणले पनि भुक्तानी गराउन पहल गरेको जनाएको छ । तर, कम्पनीले मानेको छैन ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृगौला फेल भएकी दलिल महिलालाई बीमा दावी रकम भुक्तानी नदिनुको कारण बताउन चाहेको छैन । कम्पनीका सूचना अधिकारी होमबहादुर श्रेष्ठसँग सम्पर्क गर्दा आफूले सकेसम्म चाँडै भुक्तानी दिलाउन प्रयत्न गरिरहेको प्रतिक्रिया दिए । साथै उनले बीमितले बुझाउनुपर्ने कागजात नपाएकोले ढिलाई भएको बताएका छन् ।

उता बीमा सम्बन्धी प्रचलित कानुनु अनुसार क्रिटिकल इलनेसका बीमितहरुलाई तत्काल भुक्तानी दिनुपर्ने र लामो समय रोकेर राख्न नपाइने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*