पाकिस्तानले गर्‍यो इरानको आतंकवादी आश्रयस्थलमा हवाई हमला

४ माघ २०८०, बिहीबार १३:५४

काठमाडौं । तेहरानले पाकिस्तानमा आक्रमण गरेको एक दिनपछि लगत्तै पाकिस्तानले इरानमा रहेको आतङ्कवादी आश्रयस्थललाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटनमा परी कम्तिमा तीन महिलासहित चार बालबालिकाको ज्यान गएको छ ।

बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेको स्थानहरुलाई निसानामा पारी श्रृङ्खलाबद्ध तरिकाले सैन्य हमला गरिएको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानमा इरानले मंगलबार राति आतङ्कवादी समूहबिरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि सो आक्रमण भएको भनिएको छ । ‘ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।’ पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ ।

इरानको सरवन शहर वरपरका विभिन्न स्थानहरुमा बिस्फोटको आवाज सुनिएको इरानका सरकारी समाचार संस्था इरनाले एक प्रान्तिय अधिकारीलाई उद्धृत गरी जनाएको छ।

बुधबार पाकिस्तानको विदेश मन्त्रालयले इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागि विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लङ्घन’ को निन्दा गरेको थियो ।

तेहरानले इराक र सिरियामा पनि ‘इरानी विरोधी आतङ्कवादी समूह’ विरुद्ध हमला गरेपछि इरान सरकारले पाकिस्तानमा जैश अल–अदल समूहलाई निसानामा पारी क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको थियो ।

तेहरान र इस्लामावादले एकअर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले भने आक्रमण गरेको कमै पाइन्छ ।

बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने उल्लेख गरेका थिए । यता, इरान र पाकिस्तानको निकट साझेदार चीनले भने दुबैलाई संयमित हुन आग्रह गर्दै दुबैले तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने जनाएको छ ।

यसैबीच संयुक्त राज्य अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार हमला दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुर नजिकै भएको थियो । यद्यपि पाकिस्तानको आधिकारिक वक्तव्यमा भने बिहीबारको हमला कहाँ गरिएको थियो भन्नेबारे जनाइएको छैन् । हमला हुनुभन्दा केही घण्टाअगावै पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेको बताइएको छ ।

“पाकिस्तानको सार्वभौमिकताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुन सक्छ,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आक्रमणमा परि दुई निर्दोष बालबालिकाको ज्यान गएको र तीन बालिका घाइते भएको बताइएको छ । –एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*