गलत सूचना र सामाजिक ध्रुवीकरण विश्वव्यापी चुनौति : उर्सुला
काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले गलत सूचना र सामाजिक ध्रुवीकरणका जोखिम एवं चुनौतिहरु विश्वव्यावी चिन्ताको विषय भएको बताएकी छन् । यसले अन्य चुनौतीहरूसँग सामना गर्ने हाम्रो क्षमता समेत घटाउने उनको तर्क छ ।
स्विजरल्याण्डमा १९ जनवरीसम्म चल्ने ‘विश्व आर्थिक मञ्चको वार्षिक बैठक २०२४ डाभोस-क्लोस्टर्स’लाई सम्बोधन गर्दै युरोपेली आयोगकी अध्यक्ष उर्सुलाले अहिले ध्रुवीकरणको नभई विश्वास पुनःनिर्माण गर्ने समय भएको बताईन् ।
सम्बोधनका क्रममा उनले भनिन्, ‘गलत सूचना र सामाजिक ध्रुवीकरण जस्ता जोखिमहरू अधिक गम्भीर छन् । यसले अन्य चुनौतीहरूसँग सामना गर्न हाम्रो क्षमतालाई सीमित गर्छ । र, यो द्वन्द्वको समय होइन । र, विश्वव्यापी सहकार्य र व्यापारलाई अगाडि बढाउने समयले खेल्ने महत्वपूर्ण भूमिका छ ।’
डब्ल्यूईएफको विश्वव्यापी जोखिम सम्बन्त्री वार्षिक प्रतिवेदनलाई उदृत गर्दै उनले विश्वकोसामु सबैभन्दा ठूलो तत्कालका जोखिमहरूमध्ये ‘विकृत सूचना अर्थात् गलत सूचना’ र सामाजिक ध्रुवीकरणलाई सूचीवद्ध गरिएको जानकारी दिईन् । उनले भनिन्, ‘यी वास्तवमै गम्भीर जोखिमहरू हुन् । किन भने यसले द्वन्द्व, जलवायु र प्रविधि लगायत अन्य जोखिमहरू सम्हाल्ने हाम्रो क्षमतालाई सीमित गर्दछ ।’
उनले अगाडि भनिन्, ‘मलाई विश्वास छ । र, सम्भव पनि छ । म विश्वास गर्छु कि युरोपले यो मोर्चाको नेतृत्व गर्न सक्छ । सरकार र निजी क्षेत्रको लागि यो भन्दा महत्वपूर्ण अवसर कहिल्यै प्राप्त भएको छैन ।’
उनका अनुसार संसारका प्रजातान्त्रिक मुलुकहरु चुनावमा जाँदैछन् । उर्सुलाले भनिन्, ‘जसले विश्वव्यापी जनसंख्याको ठूलो हिस्सालाई प्रभावित पार्न सक्छ । र, यो अवसरले गलत सूचनाबाट हुने खतरालाई दृढताका साथ सामना गर्ने सुनिश्चितता महत्वपूर्ण बनाउन सक्छ । –एजेन्सीको सहयोगमा