यी हुन् मन्त्रिपरिषदका निर्णय, को कहाँ नियुक्त ?
काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन् । त्यस्तै, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषदले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।