दुर्गा प्रसाईंसँग हिँडेको भन्दै सत्ताधारी माओवादीका केन्द्रीय सदस्य पार्टीबाट निष्कासन
काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले दुर्गा प्रसाईंको ‘नागरिक बचाउ महाअभियान’मा हिँडेको भन्दै वैकल्पिक केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
भक्तपुरका विरू तामाङ (सुदीप)लाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानमा हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो ।
गएको शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्य तामाङसहित उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । कपिलवस्तुकी उमा भने नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
यस्तै, माओवादीले वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधेको छ । गोरखबहादुरले मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो ।