नेपाल धितोपत्र बोर्डमा कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई, चेन अफ कमाण्ड उल्लंघन गरेर अर्थमन्त्रीलाई बदनाम गराउने प्रयास
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अलमल्याएको कारण नेपाल धितोपत्र बोर्डको कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई भइरहेको छ । बोर्डकै कार्यकारी निर्देशकहरु कृष्ण पोखरेल र विनयदेव आचार्यले चेन अफ कमाण्ड उल्लंघन गर्दै, हुँदै नभएको तथ्य अघि सारेर अर्थमन्त्री डा. महत र अर्थ सचिव कृष्णहरि पुस्करलाई गलत ब्रिफिङ गरेकोले दैनिक प्रशासन सञ्चालन गर्ने र बोर्ड बैठक समेत बोलाउन सक्ने गरी कामु अध्यक्षको जिम्मेवारी आफूले पाउनु पर्ने भनदै लविङ गरिरहेका छन् ।
तर, बीमापोष्टलाई प्राप्त कागजातमा बोर्डका सबैभन्दा सिनियर कार्यकारी निर्देशकको रुपमा डा. नबराज अधिकारीको नाम भएको तथ्य फेला परेको छ । २०७९ जेठ २६ गते नेपाल धितोपत्र बोर्डमा विशिष्ट श्रेणीमा बढुवा हुँदा डा. अधिकारीले ७८.४३४९ र अर्का कार्यकारी निर्देशक बिनयदेव आचार्यले ७६.३३४९ अंक प्राप्त गरेका थिए । सो आधारमा कार्यकारी निर्देशक डा. अधिकारी नै सबैभन्दा सिनियर भए पनि धितोपत्र बोर्डमा अनुशासनहिन तरिकाले तल्ला तहका कर्मचारीहरुले आफूले कामु अध्यक्षको जिम्मेवारी पाउनु पर्ने भन्दै निवेदन बोकेर अर्थ मन्त्रालयको चोटाकोठा चहारिरहेका छन् ।
स्रोतले जनाए अनुसार केही दिन पहिले कार्यकारी निर्देशक कृष्ण पोखरेलले आफूले दैनिक कार्य सञ्चालन र बोर्ड बैठक बोलाउन पाउनुपर्ने भन्दै निवेदन लिएर अर्थ सचिव कृष्णहरि पुस्करको कार्यकक्षमा पुगेका थिए । बोर्डका चौथो तहमा रहेको कर्मचारी कामु अध्यक्षको जिम्मेवारी पाउन माग गर्दै निवेदन बोकेर आएपछि आश्चर्यमा परेका सचिव पुस्करले फर्काइदिएका थिए ।
सो समुहले अहिले पुनः विनयदेव आचार्यलाई एकै दिन बढुवा भएको भन्दै सिनियर हो भनेर फेरि अर्थमन्त्री डा. महतलाई झुक्याउन उद्यत रहेको सूचना प्राप्त भएको छ ।
नेपाल धितोपत्र बोर्डको नियमावलीमा कर्मचारीहरुको बढुवा हुँदा कार्यक्षमता मूल्याङ्कन लगायका प्राप्त अंकको आधारमा हुने स्पष्ट व्यवस्था रहेको छ । सो आधारमा एकै दिन बढुवा भएपनि बढि अंक ल्याउने व्यक्ति स्वतः सिनियर हुनेछ । सो आधारमा कार्यकारी निर्देशक डा. नबराज अधिकारीलाई अर्थमन्त्रालयले पत्र दिनुपर्ने थियो । तर, विगत १० दिनदेखि सेबोन नेतृत्व विहिन हुँदा समेत हालसम्म पनि पत्र दिएको छैन ।
त्यस्तै, धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक अध्यक्ष नै बोलाउनु पर्ने व्यवस्था छ । अध्यक्ष नभएको अवस्थामा बोर्ड बैठकको परिकल्पना गरिएको छैन । बोर्ड बैठक बस्न नसक्दा पुँजि बजारको नियामक आफै बन्द हुन हुन पुगेको छ । अर्थात कुनै त्रुटी र गल्ती भएको अवस्थामा समेत कारवाही गर्न सक्दैन । त्यसैले विगतका वर्षहरुमा अध्यक्ष नभएको अवस्थामा बोर्डको अध्यक्षता गर्न बोर्डकै सिनियर कार्यकारी अधिकृतलाई बोर्डको अध्यक्षता गर्न र दैनिक प्रशासनिक काम गर्न जिम्मेवारी तोक्ने प्रचलन रहेको छ । विगतमा भिष्मराज ढुंगाना निलम्वित हुँदा सबैभन्दा सिनियन कार्यकारी निर्देशक निरज गिरीले पाएका थिए । मन्त्रालयले समयमा निर्णय नगर्दा बोर्डको दैनिक प्रशासनिक काम समेत रोकिएको छ ।
नेपाल धितोपत्र बोर्डमा विगत १० दिनदेखि नेतृत्व विहिन अवस्थामा छ । अर्थमन्त्रालयबाट सामान्य एउटा चिठीको भरमा निमित्त तोकिने अवस्थामा किन ढिलाई भइरहेको छ ? प्रश्न चिन्ह उठेको छ । सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा अर्थ सचिव पुस्करले कुनै प्रतिक्रिया जनाउन मानेनन् ।