शेयर बजार दैनिक नयाँ नयाँ रेडर्क कायम गर्दै, भारतलाई पछ्याउँदै कि ठूला लगानीकर्ता मोटाउँदै ?
समाचार विश्लेषण
यतिबेला नेपाली शेयर बजार दिनहुँ नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ । दैनिक पाँच अर्ब हाराहारीमा कारोबार भइरहेकोमा हिजो एकै दिन आठ अर्ब बढिको कारोबार भएको छ । विगतमा शेयर बजारमा राम्रो चलखेल गरेकाहरुले अहिले फेरि शेयर मार्केटमा प्रवेश गरेर भटाभट शेयर किनिरहेको चर्चा एकातिर चलिरहेको छ भने अर्कोतिर भारतीय शेयर बजारको प्रभाव भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ ।
देश आर्थिक रुपमा अझै संकटकै अवस्थामा छ । आम जनतासँग आर्थिक चहलपहल खासै भइरहेको छैन । बजारमा सटरहरु खाली नै छन् भने होटल तथा रेष्टुरेन्टहरुमा पनि खासै व्यापार बढिसको छैन । यस्तो अवस्थामा शेयर बजार भने निकै लामो गन्तव्य यात्रा तय गर्ने गरी अघि बढिरहेको पुँजि बजार सम्बन्धी विश्लेषकहरुले चर्चा गरिरहेका छन् ।
यतिबेला भारतमा हालसम्मकै सर्वाधिक शेयर मूल्य बृद्धि भएको छ । नेपाली शेयर बजारले पनि भारतीय शेयर बजारकै गन्तव्य पछ्याउने र यस पटक पनि त्यही भएको लगानीकर्ताहरुको भनाई छ । तर, यस पटक नेपाल र भारतको अर्थतन्त्रमा विपरित दिशामा अघि बढिरहेको छ । भारतले रसियाली सस्तो इन्धन पाएका कारण अर्थतन्त्रलाई जोगाउन सफल भएको छ भने नेपालले अमेरिकन मूल्य अर्थात सिंगापुरको मूल्यमा भारतले इन्धन दिएकोले अर्थतन्त्र चौपट अवस्थामा पुगेको छ ।
शेयर बजारका विश्लेषकहरु र सर्वसाधारण लगानीकर्ताको हितमा बोल्नेहरुले पुँजि बजारको बृद्धि सकारात्मक रहेको चर्चा गरिरहेका छन् । विगतमा जसरी दिन दुगुना रात चौगुणा गरेर बृद्धि नभएको र विस्तारै माथि उक्लनेतर्फ रहेकोले बलियो आधारसहित अघि बढिरहेको चर्चा गरिरहेका छन् । यद्यपि लगानीकर्ताहरुको उक्त भनाईलाई केही विश्लेषकहरुले ब्रोकर कम्पनीहरुले ठूला लगानीकर्ताहरुलाई अर्बौ रुपैयाँको उधारो दिएर दैनिक आठ अर्ब रुपैयाँको कारोबार भएको र सो रकम बैंकमा नपुगी ब्रोकर कम्पनीभित्रै घुमिरहेकोले घातक हुनसक्ने पनि विश्लेषण गरेका छन् । यदि ब्रोकर कम्पनीहरुले ठूला र आफूले चिनेजानेका लगानीकर्ताहरुलाई अर्बौ रुपैयाँको शेयर किनबेच गराएर सीमित औलामा गन्न सकिने लगानीकर्ताहरु मात्रै मालामाल हुन नदिन सबै सचेत हुनुपर्नेछ ।
माथि उल्लेखित यथार्थ चित्रहरुका बीचमा अघि बढेको शेयर बजार दैनिक नयाँ नयाँ रेडर्क कायम गर्दै अघि बढिरहनु लगानीकर्ताहरुको लागि सुखद अवस्था सिर्जना भएको छ । तर, नियामकले गहिरो ढंगबाट सुक्ष्म निगरानी गर्दै केही सीमित औलामा गन्न सकिने लगानीकर्ताहरुले मात्रै फाइदा लिने र आम लगानीकर्ता डुब्ने अवस्था आउन नदिनेतर्फ सचेत हुनु आवश्यक छ । साथै लगानीकर्ताहरुको हित संरक्षण गर्नेतर्फ पनि नियामकहरुको ध्यान पुग्नु जरुरी छ ।