भूकम्प प्रतिरोधी संरचनाको अनिवार्य बीमा गर्ने व्यवस्था हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको अनिवार्य बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।
२६औँ भूकम्प सुरक्षा दिवसको मूल समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भौतिक संरचनाको अनिवार्य बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद्ले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘अब हामीले विस्तारै देशैभरका निजी आवास र सरकारी संरचनाको बीमाको व्यवस्था गर्नुपर्छ भन्ने सुझावलाई मनन गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराउँछु ।’
यसै अवसरमा प्रधानमन्त्री प्रचण्डले जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसंकेतको रूपमा लिँदै ठूलो विपत्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत रूपमा गर्न र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइने जानकारी गराए ।