जीएसएम मोबाइल सेवाको लाइसेन्स पुनःप्राप्तिका लागि टेलिकमले अघि बढायो प्रक्रिया
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आगामी वैशाखमा सकिने आफ्नो जीएसएम मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।
टेलिकमको १६औं वार्षिक साधारण सभामा बोल्दै टेलिकमका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले जीएसएम मोबाइल सेवाको लाइसेन्स अवधि २०८१ मा पूरा हुने भएकाले कानूनअनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको बताए ।
जीएसएम सेलुलर मोबाइलको लाइसेन्स २०८१ वैशाख २९ गते २५ वर्ष पुग्दैछ । त्यसअघि नै टेलिकमले पुनः लाइसेन्स प्राप्तिको प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ । दूरसञ्चार ऐन २०५३ ले टेलिकम कम्पनीको अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष तोकेको छ ।
सुवेदीले फाइभजीको परीक्षणका लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहेको जिकिर गर्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट परीक्षणको स्वीकृति पाएपछि काम अघि बढ्ने बताएका छन् ।