आलमको मुद्दा पेशी चढ्ने दिन जम्मै न्यायाधीश विदामा

२९ पुष २०८०, आईतवार १२:२४

काठमाडौं । जिल्ला अदालत रौतहटका अधिकांश न्यायाधीशहरु विदामा बसेसँगै कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम मुद्दाको पेशी प्रभावित भएको छ । जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार जिल्ला अदालत रौतहटका सात न्यायाधीमध्ये पाँच जना न्यायाधीश विदामा बसेसँगै पेशी प्रभावित भएको हो ।

उनका अनुसार सात न्यायाधीमध्ये आइतबार दुई जना न्यायाधीश मात्रै अदालत आएका छन् । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भएसँगै रौतहट जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि आइतबार पेशीको तारिख दिएको थियो । तर, आलमको मुद्दा रहेको फाँट नम्बर ५ को गोला कुनै न्यायाधीशले टिपेनन् । गोला टिप्ने न्यायाधीश अपुग भएपछि आलमको मुद्दा स्थगितको सूचीमा परेको छ ।

कार्तिक २२ गते अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिल दुबै पक्षलाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । यस मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जनालाई प्रतिवादी बनाइएको छ ।

२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इटाभट्टामा ज्यँदै जलाएको आरोप आलममाथि छ । यो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।

आलमले २०६४ सालको संविधान सभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बम विस्फोटको घटना सार्वजनिक हुने भएपछि आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई ज्यूँदै इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो मुद्दामा २०७६ कार्तिक २९ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन हालेका थिए । उच्च अदालत वीरगन्जले २०७६ माघ २४ गते जिल्लाको आदेश नै सदर गरेको थियो ।

आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गएको वैशाख २३ गते धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बाटो खुलेको हो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको कर्तब्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ ।

आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराइ घाइते बनाएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*