माघीमा काठमाडौंबासीलाई मेलम्चीको पानी : वितरणको चौथो पल्ट उद्घाटन्

२९ पुष २०८०, आईतवार ११:५०

काठमाडौं । काठमाडौँ उपत्यकामा मेचम्चीको पानी वितरण कार्यक्रमको चौथो पल्ट उद्घाटन हुँदैछ । माघे संक्रान्तिको अवसर पारेर प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा आयोजना हुने एक कार्यक्रमबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले उदघाटन गरेपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी झर्ने छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले प्रधानमन्त्री प्रचण्डबाट शुभारम्भसँगै पानी उपत्यकावासीको धारामा पुग्ने बताए ।

उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको छ । पानी सुन्दरीजल आइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने बताइएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रक्राशकुमार राइले पानी पुनः वितरण शुभारम्भ भएको दिन केयुकेएललाई पाँच करोड लिटर पानी प्राप्त हुने बताए । उनले पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने जानकारी दिए । पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाउँदै क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिनेछ ।

यसअघि तीन पल्ट उद्घाटन
आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकुटीमण्डपमा काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरिन् ।

त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

२०७९ मङ्सिर २३ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँको महाँकाल वितरण केन्द्रबाट पुनः पानी वितरणको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अब चौथो पटक पानी पुनः वितरणको शुभारभ्भ गर्दै छन् ।

२०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण भएको थियो । २०७८ असार १ र साउन १५ मा मेलम्ची खोलामा आएकोे बाढीपहिरोले आयोजनाको मुहान र हेडवर्क्समा क्षति गरेपछि मेलम्ची हरायो ।

२०७९ वैशाख ११ मा अस्थायी रूपमा सुरु गरिएको पानी वितरण बाढीपहिरोबाट क्षति हुन सक्ने भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी वितरण पुनः बन्द गरिएको थियो ।

यस्तै, २०७९ मङ्सिर २३ गते मेलम्चीको पानी वितरण पुनः काठमाडौँमा सुरु गरिएकोमा २०८० साउन २७ र २८ गते आएको बाढीले आयोजनाको हेडवर्क्समा क्षति गरेपछि वितरण बन्द थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*