भ्रष्टाचारको आरोपमा छानविनमा तानिएका मुक्ति श्रेष्ठ सेबोनको अध्यक्ष बन्ने दौडमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । सरकारले नयाँ अध्यक्ष नियुक्तीको लागि आवश्यक प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको छ । यही मौका छोपेर धितोपत्र बोर्डभित्रै बसेर यसअघिका अध्यक्ष रमेश हमालसँग मिलेर डुब्न लागेको कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने कार्यमा संलग्न र कार्यकारी निर्देशक पदमा बहाल रहेका मुक्ति श्रेष्ठ यतिबेला बोर्डकै अध्यक्ष बन्ने दौडमा रहेका छन् ।
धितोपत्र बोर्डभित्र हमालको कार्यकालमा भएका भ्रष्टाचार र सेटिङलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएका मुक्ति श्रेष्ठले पछिल्लो समय सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ अनुमति दिने कार्यमा समेत संलग्न रहेका थिए । पछिल्लो पाँच वर्षसम्म नेपाल सरकारबाट आयकर छुट सुविधा लिएको सर्वोत्तम सिमेन्टलाई सर्वसधारणलाई महंगो मूल्यमा आईपीओ बिक्री गर्न अनुमति दिने कार्यमा समेत कार्यकारी निर्देशक श्रेष्ठको मूख्य भूमिका रहेको छ ।
मिनी संसदको रुपमा रहेको सार्वजनिक लेखा समितिले गत पुस १३ गते भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको पत्रमा नेपाल धितोपत्र बोर्ड लगायतबाट प्रिमियममा आईपीओ निष्काशनमा संलग्न व्यक्तिलाई कारवाही गर्न निर्देशन दिइएको छ । समितिले सो कार्य गैर कानुनी र भ्रष्टाचारजन्य कार्य भएको भन्दै संलग्न सबैमाथि कारवाही गर्न निर्देशन दिएको हो । उक्त निर्देशनपछि छानविनको दायरामा पर्ने थोरै व्यक्तिमा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ पनि पर्दछन् । आफूलाई माओवादी निकट भनेर चिनाउने श्रेष्ठले केही व्यापारीलाई आफू सेबोनको अध्यक्ष बन्ने कुरा गर्दै हिँडेका छन् ।
उनले प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसकी नेतृ आरजु देउवाको सिफारिसमा सेबोनको अध्यक्ष बन्ने भन्दै दौडधुपमा लागेका छन् । भ्रष्टाचारको आरोपमा मुछिएका श्रेष्ठको दौडधुप राम्रै चलेपनि नयाँ अध्यक्षको नियुक्तीको लागि आवश्यक प्रक्रिया नै सुरु नभएकोले को-को मैदानमा हुनेछन्, कसको अवस्था के हुने भन्ने अन्योलपूर्ण स्थिति छ । साथै लेखा समितिले अख्तियारलाई एक महिना भित्र छानविन प्रतिवेदन पेश गर्न भनेकोले श्रेष्ठसहितका भ्रष्टाचार काण्डमा परेकाहरु कहिले जेल जाने भन्ने यकिन नभएका कारण उनको सम्भावना निकै कमजोर रहेको जानकारहरु बताउँछन् ।