माथिल्लो तामाकोशी जलविद्युतको लिलामी सेयरमा मागभन्दा बढीको आवेदन, साढे १ अर्ब बढी रकम खातामा जम्मा
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयर सर्वसाधारणको आवेदनबाट नै ओभरसब्स्क्राब भएको छ । कम्पनीको सबै सेयर बिहीबार साँझसम्मको आवेदनबाट नै बिक्री भएको हो ।कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहीबार साँझसम्म लिलामी प्रकृयाका लागि तोकिएको बैंक खातामा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ ।
तोकिएका आवेदन केन्द्रहरुमा आवेदकको भीड लागेसँगै क्यापिटलले दैनिक हजारौंको संख्यामा आवेदन फारम प्रिन्ट गर्दै पठाएको छ । बिहीबार साँझसम्ममा सबै आवेदन केन्द्रहरुमा ३० हजार वटा आवेदन पठाइएको र एकल सर्वसाधारण आवेदकबाट झण्डै १० हजार आवेदन प्राप्त भइसकेको क्यापिटलको भनाई छ । विभिन्न आवेदन केन्द्रमा प्राप्त भएका आवेदनको पूर्ण विबरण आईनसकेको जनाएको क्यापिटलले बैंक खातामा भने १ अर्ब ७० करोडभन्दा बढी रकम जम्मा भइसकेको जनाएको छ ।
कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीमा राखिरहेको छ । लिलामीको म्याद सकिने समय नजिकिँदै गर्दा तोकिएका केन्द्रहरुमा आवेदन फारम लिनेको भिड बढ्न थालेको कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । पहिलो चरणमा १० हजार आवेदन छपाई गरिएकोमा पछिल्लो साता दिनमा मात्र प्रत्येक दिन ५ हजारका दरले थप आवेदन फारम छपाई गर्दै आवेदन केन्द्रहरुमा पठाइएको क्यापिटलको भनाई छ ।
सर्वसाधारण आवेदकहरुबाट बिहीबार साँझसम्म परेको आवेदनका आधारमा मात्र लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने हो भने सबै आवेदकले माग गरे अनुसारको सेयर पाउने अवस्था बनेको छ । यद्यपी संस्थागत लगानीकर्ताहरुको आवेदन आईनसकेको अवस्थामा यस्तो आवेदनले नै लिलामी सेयरको कटअफ निर्धारण गर्ने भएको छ । अहिलेकै अवस्थामा भने केही आवेदकलाई छाडेर प्रतिकित्ता १०० रुपैयाँको दरमा आवेदन दिएकाहरुले पनि सेयर पाउनेछन् ।
न्यूनतम प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । उक्त लिलामीमा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् । अहिले दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर १९७ रुपैयाँको दरमा किनबेच भइरहेको छ ।