काठमाडौं महानगरमा बालेनको सीसीटीभी आतंक, कसैलाई भेट्नै डराउन थाले विभागीय प्रमुख

२७ पुष २०८०, शुक्रबार ११:५३

काठमाडौं । काठमाडौं महानगरपालिकामा सीसीटीभी आतंक फैलिएको छ । महानगर प्रमुख एवं मेयर बालेन्द्र साहले सुशासन कायम गर्ने नाममा १५ विभागीय प्रमुखसहित २२ स्थानमा सीसीटीभी जडान गर्दै अनावश्यक हैरानी दिएका छन् ।

काठमाडौं महानगरको मुख्यालय बाघदरबार हुँदा सबै विभाग एकै ठाउँमा थिएनन् । सुशासन बढाउन भन्दै मेयर बालेनले सबै विभाग एउटै घर टुकुचा छेउको काठमाडौं प्लाजामा ल्याए । अहिले काठमाडौं प्लाजा, भित्र बाहिर सर्बत्र सीसीटीभी आतंक छ ।

मेयर बालेनले आफ्नो सचिवालयसँगै रहेको मिटिङ हलमा समेत लुकाएर सीसीटीभी राखेका छन् । जहाँ बैठक सकिनेवित्तिकै सबै पदाधिकारी एवं कर्मचारी आ–आफ्नो च्याम्बर हिँडिहाल्छन् । कुनै सार्वजनिक कार्यक्रम सकिएपछि पनि त्यहाँ कोही झुण्ड बाँधेर बसेका भए बालेनले नगर प्रहरी लगाएर तु’ हटाइहाल्छन् ।

बालेनको सचिवालयले सबै विभागीय प्रमुखको गतिविधि निगरानी गर्न थालेपछि कुनै पनि विभागीय प्रमुखहरू बोल्नसमेत डराउन थालेका छन् । मेयर बालेन र सचिवालयका सीमित व्यक्तिले कुन विभागीय प्रमुख र शाखामा को–को प्रवेश गरेका छन् भनी पूरै निगरानी गरेर बस्ने गरेका छन् ।

टाउकैमाथि सीसीटीभी राखेर हैरान भएपछि अधिकांश विभागीय प्रमुखले आफूलाई भेट्न आएकासँग छलफल गर्न छाडिसकेका छन् । विभागीय प्रमुखहरूले आफ्नो गोपनीयतासमेत भंग हुनसक्ने गरी विभागीय प्रमुखको कार्यकक्षमा सीसीटीभी जडान गरेपछि काम गर्नै मेसो आउन छोडेको बताउने गरेका छन् ।

मेयर बालेनले भने कार्यालय समयमा सबै आ–आफ्नो टेबुलमा भए सेवाग्राहीले दुःख पाउँदैनन् भन्ने अभिप्रायले सबै विभागीय प्रमुखको कार्यकक्षमा सीसीटीभी जडान गरेको बताउदै आएका छन् ।

विभागीय प्रमुख तथा कर्मचारीहरु भने उनले अनावश्यक दुःख दिन र स्पष्टीकरण सोध्नका लागि सीसीटीभी जडान गरेको गुनासो गरिरहेका छन् । भूकम्पले थिलथिलो भएका घरलाई रङरोगनदेखि एसी जडानसँगै २२ वटा सीसीटीभी जडान भइसकेको छ । सीसीटीभीले सबै विभागीय प्रमुखको कार्यकक्षमा भएको गतिविधि निगरानी गर्छ मेयर बालेनको सचिवालयले ।

त्यसरी जडान गरिएका सीसीटिभीको रेकर्ड ३० दिनसम्म राखिने गरिएको कर्मचारीहरु बताउँछन् । सीसीटिभीमा देखिएको दृश्यको आधारमा सचिवालयबाट सोध्ने कामसमेत हुने गरेको ती कर्मचारीको भनाइ छ ।

मेयरको सचिवालयले एउटै व्यक्ति एउटै कामका लागि दुःख पाउन नपरोस् र पारदर्शी सेवा सञ्चालन गर्न सहज हुन सकोस् भन्ने अभिप्रायले सीसीटीस्भी जडान गरेको बताइरहेको छ । प्रवक्ता नवीन मानन्धरले सेवा प्रवाहलाई पारदर्शी बनाउन सीसीटीभी जडान गरेको स्पष्ट पारे ।

उनले अन्य बाँकी ठाउँमा पनि जडान गर्ने तयारी भइरहेको बताएका छन् । सीसीटिभी जडान गरेर कसैको पनि गोपनीयता हनन नभएको र काममा स्फूर्ति जागेको तथा कामकारबाही थप व्यवस्थित भएको महसुस गरको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*