सन्दीप लामिछाने घरेलु तथा अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट निलम्बित
२६ पुष २०८०, बिहीबार ११:१७
काठमाडौं । जबरजस्ती करणको मुद्दामा काठमाडौं जिल्ला अदालतले कैद सजाय तोके लगत्तै क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई औपचारिक रुपमा निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतले सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर अदालतको फैसलाअनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।