बीमा क्षेत्रमा आगामी साउन १ देखि एनएफआरएस-१७ लागू गर्नै पर्ने, जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस -१७ लागू गर्नका लागि वातावरण बनाउन सरोकारवालाहरुबी जिम्मेवारी वर्गीकरण गरिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
काठमाडौंमा नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)-१७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल कार्यक्रममा अध्यक्ष सिलवालले क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ-आफ्नो जिम्मेवारी वर्गीकरण गरी काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी यकिन गरी अघि बढेमा यो वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस-१७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ, प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’
एनएफआरएस-१७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने र पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन सहज हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको छ, त्यसबाट एनएफआरएस-१७ लागू गर्न सहयोग पुग्नेछ, बीमा कम्पनीहरूमा एनएफआरएस-१७ लागू गर्ने प्रतिवद्धता देखिएको छ, एनएफआरएस-१७ लागू हुँदाको अवस्थामा कर लगायत अन्य नीति कस्तो हुने हो भन्ने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूको साझा बुझाई हुनुपर्छ ।’
लेखामान बोर्ड, नेपालका अध्यक्ष प्रकाश जंग थापाले आगामी साउन १ गतेदेखि नै एनएफआरएस-१७ लागू गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानको मूल प्रावधानमा असर नपर्ने गरी एनएफआरएस-१७ लागू गर्दा आइपर्ने समस्या समाधान गर्न बोर्ड तयार रहेको बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन काफ्लेले एनएफआरएस-१७ लागू गर्नका लागि बीमा कम्पनीलाई यसको महत्वका बारेमा बुझाउनुपर्ने, पूर्वाधारमा लगानी गर्नुपर्ने र साझा सफ्टवेयर बनाउनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एनएफआरएस-१७ लागू गर्नका लागि सम्बन्धित निकाय निकायहरूको सहभागितामा गठित उच्चस्तरीय समिति अन्तर्गतको प्राविधिक समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको जानकारी दिए ।
कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्रमा एनएफआरएस–१७ लागू गर्न लगानीका दृष्टिले ठूलो चुनौती रहे पनि पूर्वाधार, सूचना प्रविधि र जनशक्ति लगायतका विषयमा मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्ले र लेखामान बोर्ड, नेपालका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट मनिष उप्रेतीले एनएफआरएस -१७ सम्बन्धी छुट्टा छ्ुट्टै प्रस्तुती राखेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता थियो ।
एनएफआरएस-१७ लागू भएपछि नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने, अन्तर्राष्ट्रिय वित्तीय विवरणमा एकरूपता कायम हुने, देशमा वैदेशिक लगानी बृद्धि हुने र वैदेशिक व्यापारमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (आईएफआरएस)बमोजिम नेपालको बीमा क्षेत्रमा एनएफआरएस-१७ लागू गर्नका लागि गर्नुपर्ने तयारी, आउनसक्ने चुनौती र सम्बोधन गर्नुपर्ने लगायतका विषयबारे सम्बद्ध नियामक निकाय तथा बीमकबीच छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ