प्रधानमन्त्री प्रचण्डले फेरि गरे ‘२० करोडको बचाउ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको भारतीय दूतवासले सीधै प्रति आयोजना २० करोड रुपैयाँ खर्च गर्न पाउने सम्झौताको फेरि बचाउ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले यो सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताए ।
बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको समेत प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
भारत सरकारसँग भएको सम्झौतापत्रहरु समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको जिकिर प्रधानमन्त्रीले गरे । उनले भारतीय दूतावासले सीधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभइ अन्य देशहरुसँग पनि हुँदै आएको जिकिर गरेका छन् ।
प्रधानमन्त्रीले प्रचण्डले भारतसँगको यो सम्झौता सङ्घीय सरकारको हातमाथि पर्नेगरी गरेको दाबी गरेका छन् । यस्तै, उनले भारतीय दूतावासले यसअघि पनि सीधा पाँच करोड खर्च गर्ने गरेको भन्दै अङ्क बढाउने कुराले देशमा खासै असर नगर्ने बताए । सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनै पनि त्यस्तो प्रावधान नराखिएको प्रष्टीकरण प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनैपनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनोट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आद्यावधिक समीक्षासमेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ ।’ सम्झौतामा नेपाल सरकारले चाहेका बेलामा जुनसुकै निर्णय गर्नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।