सुखीपुर नगरपालिकासँग बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । सिरहाको सुखीपुर नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पुस २३ गते पालिकाको सभा हलमा स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको सभापतित्व बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उक्त पालिकाका नगर प्रमुख राम औतार यादव, विशेष अतिथिको रुपमा नगर उपप्रमुख रेणुदेवी साह र अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार ठाकुर र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम सागर आचार्यले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु, अन्य सरोकारवाला लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु गरी करिब १२० जना भन्दा बढीको सहभागिता रहेको थियो।
प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।
प्रस्तुतिकरण पश्चातको छलफलमा सहभागीहरुले जीवन र निर्जीवन बीमा एवम् कृषि तथा पशुपन्छी बीमाको विविध विषयमा जिज्ञासा राखेका थिए । साथै, पालिकामा बीमाको साक्षरता प्रवर्द्धन र समन्वयका लागि छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्ने र बीमाको साक्षरता पालिकाबाट गाउँगाउँसम्म पुर्याउनु पर्ने लगायतका विविध विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ सहायक निर्देशक खनालले दिएका थिए । साथै, जीवन र निर्जीवन बीमकका प्रतिनिधि एवम् कृषि प्राविधिकले समेत स्थानीय भाषामा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुखले आफ्नो आम्दानीको केही रकम बीमाको लागि छुट्याउनु पर्ने धारणा राखे । साथै सम्पूर्ण वडाका वडाअध्यक्षहरु एवम् जनप्रतिनिधिलाई बीमा साक्षरता प्रवर्द्वन सम्बन्धी कार्य गर्न आगह्र गर्दै पालिकाले समेत बीमाको दायरा विस्तारमा आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख शर्माले मधेश प्रदेशको कमजोर बीमा दायराको स्थितिलाई सुधार गर्न गाउँगाउँ सम्म बीमा शिक्षा पुर्याउनु पर्ने र यसका लागि नेपाल बीमा प्राधिकरणले गर्दै आएको विभिन्न कार्यको जानकारी दिइन् । साथै स्थानीय तह र बीमक समेतले बीमा शिक्षा विस्तारमा आवश्यक कार्य गर्नुपर्ने बताइन् ।
प्रदेश प्रमुख शर्माले पालिका स्वयंले आफ्ना भौतिक संरचना र विपन्न नागरिकको बीमा गरी यस अभियानलाई सुरुवात गर्न र पालिकाको सेवालाई बीमासँग आवद्ध गर्न अनुरोध गरिन् । साथै, उनले बीमा गर्दा यसका सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै छलफलका क्रममा उठेका अन्य प्रश्न एवं जिज्ञासालाई थप स्पष्ट पार्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध गरिन् ।