सरकारको नीति कार्यक्रम र बेजटमा गल्ती नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटको ढाँचा तथा प्रक्रियामा हतारो गरेर गल्ती नगर्न आग्रह गरेका छन् । सोमबार अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममा हतारो नगर्न आग्रह गरेका हुन् ।
छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत सहभागि थिए । प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तोक्ने प्रक्रियामै सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । ‘बजेटको सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरूरी छ ।
अनुमान र हचुवाको भरमा सिलिङ नतोकौं । मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनस्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे पनि प्रष्ट खाका चाहिन्छ । त्यसका लागि पनि आवश्यक तयारी गर्नुस् ।’
प्रधानमन्त्री प्रचण्डले अनावश्यक नयाँ योजना नथप्ने, अधुरा योजनालाई उच्च प्राथमिकता दिने र खास कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति, कार्यक्रम र बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।
अर्थमन्त्री डा. महतले नीति, कार्यक्रम र बजेटमा नयाँपन ल्याउने प्रधानमन्त्रीको सोच अनुसार काम अघि बढाइने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटको सिद्धान्त र प्राथमिकताहरु फागुनमा संसद्मा प्रस्तुत गर्ने गरी कार्यतालिका बनाइएको बताए ।