त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त मागिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो । समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त माग गरिएको थियो ।
उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि तोकिएको मापदण्ड विवादित भएपछि रद्द गरिएको थियो । समितिले सोमबार जारी गरेको सूचनामा कुनै योग्यता उल्लेख गरिएको छैन ।
जारी सूचनामा समितिले इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा १५ दिनभित्र आवेदन दिन भनेको छ ।