बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार इलाकाबाट जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका हुन् । आन्दोलनकारीले यादवले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए ।
गएको शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो । मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता हुन् ।
आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको जिकिर छ । मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको जिकिर गरिरहेका छन् ।