एनआईसी एशिया बैंकद्वारा मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण
काठमाडौं । एनआईसी एशिया बैंकले मोहन्याल माध्यमिक विद्यालयमा सहयोग गरेको छ। बैंकले कैलालीस्थित उक्त विद्यालयमा पुस्तकालय भवन निमार्ण गरेको हो।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निमार्ण सम्पन्न गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा सुदूरपश्चिम प्रदेशमा यस बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो । यस नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ।
उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारी लगायत स्थानीय निकाय एवं विद्यालयका पदाधीकारीहरुको उपस्थितिमा समुद्घाटन भएको कम्पनीले बताएको छ ।
यस भवन निर्माण पश्चात् विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरी त्यहाँबाट विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।